Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विराटनगरमा ‘प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगरमा ‘प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ

मोरङ : प्रहरीको नाममा शरीर बन्धक बनाई डकैती गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार ११ गते बिहान ११:१५ बजे विराटनगर–१५ का २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा जम्मा गर्न लैजाँदै गरेको रु. ३ लाख ६४ हजार रुपैयाँ रातो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले लुटपाट गरेका थिए।

पीडितका अनुसार सिटी सफारीमा यात्रा गरिरहेका बेला रानीस्थित राइस मिल नजिक ती व्यक्तिहरूले स्कुटर रोकेर आफूहरू ‘जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको अनुसन्धान टोली हौँ’ भनी झूटो परिचय दिँदै नियन्त्रणमा लिएका थिए। उनीहरूले पीडितलाई स्कुटरको बिचमा जबरजस्ती राखी विराटनगर–१४ स्थित एकान्त स्थानमा लगेर धम्की दिँदै साथमा रहेको नगद रकम लुटेर फरार भएका थिए।

प्रहरीले अनुसन्धानको क्रममा असार १५ गते सो घटनामा प्रयोग भएको को.१४ प. ३३३० नम्बरको स्कुटरसहित समीर हुसेन र आशिफ अन्सारीलाई पक्राउ गरेको हो। उनीहरूलाई पीडितले सनाखत समेत गरिसकेको छ।

प्रहरीले उनीहरूमाथि शरीर बन्धक बनाई डाँका गरेको कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जनाए अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट