Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खानेपानी कार्यालयकी कर्मचारी मृत फेलाः हत्या आशंका, को थिए सँगै बस्ने युवक ?

खानेपानी कार्यालयकी कर्मचारी मृत फेलाः हत्या आशंका, को थिए सँगै बस्ने युवक ?

काठमाडौं : धनगढीस्थित खानेपानी कार्यालयकी एक कर्मचारी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छिन् । उनीसँगै एक युवक बस्ने गरेको खुलेको छ, तर प्रहरीले विस्तृत जानकारी दिएको छैन ।

सोमबार बिहान धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा डेरा गरी बस्दै आएकी ३० वर्षीया रेणुका चौधरी मृत फेला परेकी हुन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरवस्ती घर भएकी चौधरी खानेपानी कार्यालयको मिटर रिडिङ गर्ने कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए ।

उनको डेराबाट दुर्गन्ध आएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घरको बाहिरबाट ताल्चा लगाइएको अवस्थामा प्रहरी पुगेपछि ताला फुटाएर प्रवेश गर्दा चौधरीको शव भेटिएको हो ।

‘बाहिरबाट ताल्चा लगाइएको थियो, हामीले ताला फोडेर शव फेला पार्यौं,’ डिएसपी सिंहले भने । उनका अनुसार शवको घाँटी र चिउडोमा चोट देखिएको छ। ‘घाउ र खतको प्रारम्भिक विश्लेषणबाट हत्या भएको आशंका गरिएको छ,’ उनले भने ।

प्रारम्भिक अनुसन्धानमा चौधरीसँग डेरामा एक युवक पनि बस्ने गरेको खुलेको छ । तर घटना कहिले घटेको हो भन्ने यकिन भइसकेको छैन । ‘शव सडेको अवस्थामा भेटिएकाले मृत्यु कहिले भएको हो भन्ने तुरुन्त पत्ता लगाउन सकिएन,’ डिएसपी सिंहले बताए ।

प्रहरीले चौधरीले कार्यरत खानेपानी कार्यालय, डेरा घरबेटी र अन्य नजिकका व्यक्तिहरूसँग बुझ्न थालेको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट