काठमाडौँ : वरिष्ठ अधिवक्ता एवं सर्वोच्च बारका अध्यक्ष मेघराज पोखरेल न्यायाधीश हुन अयोग्य रहेको भन्दै उजुरी परेको छ । उनीविरूद्ध संसदीय सुनुवाइ समितिमा आइतबार उजुरी परेको हो । न्याय परिषद् सचिवालयले गत जेठ २७ गते पोखरेललाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका पोखरेलले उच्च अदालत दाङ, तुल्सीपुरको बुटवल इजलासले तथ्य प्रमाणसहित सहकारी ठगीमा पुर्पक्षको लागि थुनामा गएका प्रतिवादी रवि लामिछानेका विषयमा गरेका टिप्पणी एवम् अभिव्यक्तिले सर्वोच्च अदालतमा कस्तो न्याय सम्पादन होला भन्दै प्रश्न उठाइएको छ ।
टिबी कार्कीले दायर गरेकाे उजुरीमा भनिएको छ,‘मिति २०८२ जेठ २३ गतेका दिन राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी सभापति रवि लामिछानेलाई थुनामा पठाएपछि सो बारेमा छलफल गर्न वरिष्ठ अधिवक्ता सहितको टोली पार्टी कार्यालयमा बोलाएको रहेछ । सो बैठकमा न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल समेत सामेल हुनु भएको रहेछ । एउटा पार्टी कार्यालयमा गएर उहाँले अदालतले थुनामा पठाएको व्यक्तिको पक्षमा वकालत गर्नु कत्तिको सान्दर्भिक हो ? कत्तिको नैतिक अथवा अनैतिक हो ? प्रश्न चिन्ह उठेको छ । वरिष्ठ अधिवक्ता पोखरेलले उक्त बैठकमा सहकारीको पैसा कानुन विपरीत कम्पनीमा आयो र त्यसलाई गोर्खा मिडियाले जीवी राईको सर्ट टर्म लोन भनेर भनेपछि कम्पनी त ऋणी भएन भएपनि जीवी होलान्, रविलाई किन तानेको ? ।’
वरिष्ठ अधिवक्ता जस्तो व्यक्तिले कुनै पार्टी कार्यालयमा गएर आरोपितको पक्षमा बोल्नु, अदालतको आदेशको अवज्ञा हुने गरी मन्तव्य राख्नु कत्तिको सुहाउँदो कुरा हो ? भन्दै प्रश्न गरिएको छ । न्यायाधीशमा सिफारिस भएका पोखरेलको व्यवहार र अभिव्यक्तिले निष्पक्ष न्याय सम्पादन हुने कुरामा विश्वस्त हुन नसकिने उजुरीमा उल्लेख छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij