काठमाडौँ : राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट ६० किलो सुन बरामद गरेपछि बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परे ।२०८० साउनमा दोस्रो साता छिरिङ पक्राउ परेपछि अमला रोका फरार भइन् । तिब्बतीयन मूलका बेल्जियन छिरिङकी पत्नी हुन् अमला ।सुन तस्करीमा संलग्न छिरिङ पक्राउ परेको झन्डै दुई वर्षपछि अमलालाई टोखाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
टोखा नगरपालिका–३ स्थित सुर्यदर्शन हाइटबाट उनलाई पक्राउ गरिएको ब्युरोका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।उनी फ्ल्याट लिएर टोखामा बस्दै आएकी थिइन् । अमलाका बहिनीहरू पनि सँगै बस्थे । फ्ल्याट बाहिर ननिस्किने अमलालाई लामो समय निगरानी गरेर पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
रोल्पा घर भएकी अमला हङकङबाट काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अमला माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन ‘अनन्त’ सँग निकट छिन् । रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष भएर काम गरेकी अमला र अनन्तको बिचमा ‘पारिवारिक सम्बन्ध’ रहेको सो पार्टीका कार्यकर्ताहरू बताउँछन् ।
२०८० भदौमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अमलालाई फरार प्रतिवादी बनाएर अदालतमा सुन तस्करीको मुद्दा दायर गरेको थियो ।उनी ठमेल स्थित ‘होटल भियना’को सञ्चालिका पनि हुन् । अमला पतिकै कारण सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
दावाले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।अमला विरुद्ध २०८० माघ २४ मा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij