Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रोशी खोलामा फसेका पाँच जनाको सकुशल उद्धार

रोशी खोलामा फसेका पाँच जनाको सकुशल उद्धार

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा हिजो राति करिब ९ बजे अचानक पानीको बहाव तीव्र बनेपछि खोलाको बीच भागमा फसेका पाँच जनालाई नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ ।

स्थानीय रूपमा गिट्टी उत्खनन् कार्यमा खटिएको एक जेसीबी, एक टिपर र पाँच जना व्यक्ति तीव्र बहावका कारण खोलामै फसेका थिए । घटना भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल, अस्थायी सुरक्षा बेस (आईटी पार्क) पनौतीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिमसेन के.सी.को नेतृत्वमा १० जनाको उद्धार टोली खटाइएको थियो ।

साथै, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा थप ११ जनाको टोलीसमेत परिचालन गरिएको थियो ।नेपाल प्रहरी र नेपाली सेनाको समेत सक्रिय सहयोगमा गरिएको उक्त उद्धार अभियान गएराति सवा बाह्र बजे सफलतापूर्वक सम्पन्न भएको हो ।

सकुशल उद्धार गरिएका व्यक्तिहरूमा तेमाल गाउँपालिका–५, गिम्दी काभ्रेका सञ्जय लामा, डाँडागाउँ, नमोबुद्ध नगरपालिका–५ का मुस्कान तामाङ, तेमाल गाउँपालिका–५ का रेबन तामाङ, भिमेश्वर नगरपालिका, दोलखाका टिपर चालक समिर तामाङ, ओखलढुंगा हाल डाँडागाउँ, नमोबुद्ध नगरपालिका–५ का जेसीबी चालक सागर राई रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको शीघ्र प्रतिक्रिया, प्रविधिमा आधारित उद्धार विधिको प्रयोग तथा विभिन्न सुरक्षासंस्थाबीचको समन्वयका कारण सम्भावित ठूलो दुर्घटनाबाट मानवीय क्षति हुनबाट जोगीएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट