कावासोती : आज जेठ ३१ अर्थात जनताले जर्नेल समातेको दिन । निकुन्जमा हतियार र शिकार सहित ठुलो ओहदाका मानिस समुदायको सक्रियतामा पक्राउ परेको घटनाले त्यो बेला निकै चर्चा मात्रै पाएन उच्च ओहदाका व्यक्तिहरु पक्राउ परेको घटनालाई संरक्षणको क्षेत्रमा जनताले जर्नेल समातेको दिन भनेर सम्झने गरिन्छ । यो घटनाले संरक्षणको क्षेत्रमा स्थानियको सहभागीता निकै महत्वपुर्ण हुने मुद्धालाई त्यो बेला बलियो रुपमा स्थापित गरेको थियो ।

२०६९ जेठ ३१ गतेको बिहानको ५ बजेको समयमा लामिचौर उपभोक्ता समितिका अध्यक्ष हाल कावासोती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी सहितको टोलिले नेपाली सेनाका पूर्व उपरथी ललितपुर कुपण्डोल निवासी ७० बर्षिय सागर शम्शेर ज.ब.रा. सहित सेनाका पूर्व सुवेदार सिताराम कार्की र बज्रदल गण डण्डाका क्याप्टेन बलदेव कुवँरलाई हतियार, सिकार गरेर मारेको हरिण सहित मध्यवर्ती क्षेत्रको नमूना सामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको थियो ।

पटक पटक वन क्षेत्रमा रातो रङको कार देखिए पछि स्थानीयले निगरानी बढाएका थिए । त्यो दिन पनि त्यहि रातो रङ्गको बा २ च ४३५४ कारमा आएका उनिहरुलाई हरिण मारेर लिएर फर्केने क्रममा वन क्षेत्रबाटै स्थानीयले पक्राउ गरेका हुन । बिहान करीब ४ बजे रातोकार नमूना मध्यवर्ती वन क्षेत्रमा प्रवेश गरेको सूचना पाएका लामिचौरका अध्यक्ष अधिकारीले नजिकका स्थानिय युवाहरु लिएर झिसमिसेमा वन प्रवेश गरेका थिए ।

अधिकारीको नेतृत्वको टोलीले हतियार र सिकार सहित पक्राउ गरेको खबर बाहिरिए पछि ठुलो संख्यामा आएका स्थानियहरु जम्मा भएका थिए । सेनाका उच्च ओहादाका व्यक्तिहरु पक्राउ परे पछि आक्रोसित स्थानियबाट जोगाएर प्रहरीलाई कावासोती पु¥याउन निकै गार्हो परेको थियो । पक्राउ परेकाहरुलाई गाडीमा राखेर प्रहरी कार्यालय लैजान खोज्दा स्थानीयको अवरोध पछि केही समय मारेको सिकार बोकाएर हिडाउनु परको थियो ।

निकुञ्जको कार्यक्षेत्र भएको भन्दै निकुञ्ज प्रशासन र नेपाली सेनाले त्यो बेला कार्वाही प्रक्रिया आफुहरुले गर्ने र पक्राउ परेकाहरुलाई आफुहरुले लैजाने भने पछि स्थानीय निकै आक्रोसित बनेका थिए । स्थानीयको दबाब पछि उनिहरुलाई ईलाका प्रहरी कार्यालय कावासोती ल्याईएको थियो । पटक पटक रातो कार वन क्षेत्रमा प्रवेश गरेर निस्किने गरेको सूचना पाए पछि स्थानियले निगरानी बढाएका थिए । लामीचौर उपभोक्ता समितिका अध्यक्ष शारदाप्रसाद अधिकारी, आइल्यान्ड जङ्गल रिसोर्टका म्यानेजर दीपक तिवारी, वन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका सदस्य दीपक शर्मा, सुरज बि.क सहितको टोलीले उनीहरूलाई मोटरसाइकलमा पिछा गरी पक्राउ गरेको गरेको थियो ।

वन्यजन्तुको चोरी सिकारीमा प्रभावशाली मान्छेहरुनै मुख्य रुपमा लाग्ने गरेको तर कार्वाही र सजाय तल्लो तहका भरियालाई मात्रै हुने गरेको भनेर निकुञ्ज र प्रशासन माथी प्रश्न उठि रहेको समयमा स्थानियको सक्रियतामा हतियार र मारेको शिकार सहित घटनास्थलबाटै उच्च ओहदाका व्यक्तिहरु पक्राउ परेको घटनाले संरक्षण्मा स्थानियको भुमिका निकै महत्वपूर्ण हुने तथ्य स्थापित गरेको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका संस्थापक अध्यक्ष विष्णु अधिकारीले बताए ।
संरक्षणको क्षेत्रमा चासो राख्ने तथा संरक्षणको क्षेत्रमा लाग्नेहरुले समुदायको सक्रियतामा उच्च ओहदाका व्यक्तिहरु चोरी सिकार गर्दै गरेको अवस्थामा पक्राउ परेको यो घटनालाई निकै महत्वपूर्ण सफलताको रुपमा लिने गरेका छन ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij