Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोरखामा पकेटमारका घटनामा संलग्न तीनजना पक्राउ

गोरखामा पकेटमारका घटनामा संलग्न तीनजना पक्राउ

गोरखा: गोरखा प्रहरीले तीन जना पाकेटमारलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुको ३ लाख ५० हजार रुपैयाँ पाकेटमार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार पक्राउ पर्नेमा गोरखा जिल्ला शहिदलखन गाउँपालिका-४ ताक्लुङ घर भई हाल चितवनको रत्ननगर नगरपालिका-११ सितलटोल बस्ने बर्ष ४९ का दिपक परियार, सोही स्थानका बर्ष ३५ का आशिक भूजेल र शहिदलखन गाउँपालिका-४ ताक्लुङक घर भई हाल चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने बर्ष ४३ का दान नारायण श्रेष्ठलाई पक्राउ गरिएको हो ।प्रहरीले श्रेष्ठलाई चितवन पुगेर निजकै घरबाट पक्राउ गरेको थियो भने अन्य दुई जनलाई भने गोरखा सदरमुकामको लक्ष्मीबजार क्षेत्रबाट पक्राउ गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

पक्राउ परेकाहरुले ०८१ साल फागुन ८ गते दिउँसो गण्डकी गाउँपालिका-२ निवासी बर्ष ७१ का गिरीराज पन्तको साथमा रहेको एक लाख नगद चोरी गरेका थिए । पन्त गोरखा बजारबाट लक्ष्मीबजारतर्फ सार्वजनिक बसमा जाँदै गर्दा उक्त रकम चोरी भएको थियो ।

०८२ जेठ ७ गते गोरखा सदरमुकामको हरमटारीमा बस्ने बर्ष ८२ का गंगा बहादुर श्रेष्ठले भारतीय पेन्सन क्याम्पबाट बुझि ल्याएको दुई लाख रुपैयाँ लक्ष्मीबजारदेखी गोरखा सदरमुकामतर्फ आउँदै गर्दा बाटोमै चोरी भएको थियो ।

त्यस्तैगरी, ०८२ साल जेठ ११ गते बिहान ११ बजेको समयमा लक्ष्मीबजारदेखी गोरखा बजारतर्फ आउँदै गरेका शहिदलखन गाउँपालिका–५ बस्ने चोक बहादुर थापा मगरको साथमा रहेको ५० हजार चोरी भएको थियो । थापा मगर पनि भारतीय पेन्सन क्याम्पबाट पेन्सन बुझेर गोरखा बजारतर्फ आउँदै गर्दा सार्वजनिक बसमा लुटिएका थिए ।पक्राउ परेकाहरुले चोरी भएको तीनैवटा आरोप स्विकार गरेको पनि सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरु विरुद्ध चोरी सम्बन्धी कसूर मुद्दा दर्ता गरेर गोरखा जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरिएको छ । आरोपित सबैलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट