Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सस्तो डलर भन्दै डलरको नक्कली बिटो दिएर ३० लाख ठगी गर्ने व्यक्ति पक्राउ

सस्तो डलर भन्दै डलरको नक्कली बिटो दिएर ३० लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडाैं : अमेरिकी डलर सस्तो दरमा उपलब्ध गराइदिने लोभ देखाई नेपाली नागरिकहरूमाथि ठगी गर्ने एक व्यक्ति अखेर प्रहरीको फन्दामा परेका छन्। तारा बहादुर तामाङ नाम गरेका ३९ वर्षीय पुरुषलाई भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धान अनुसार, तामाङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका–३ ढोडेनी क्षेत्रका विभिन्न व्यक्तिहरूसँग फोनमार्फत सम्पर्क गरी सस्तो दरमा डलर उपलब्ध गराइदिने झूठो आश्वासन दिएका थिए।

उनले डलर जस्तो देखिने कागजको बिटो कपडामा पोको पारेर दिने र त्यस बदलामा नगद रकम असुल गर्ने गरेको खुलेको छ। यसै प्रकृतिको कार्यबाट उनले झण्डै रु ३० लाख ठगी गरिसकेको प्रहरीले जनाएको छ।

घटनापछि पीडितहरूले दिएको उजुरीको आधारमा खटिएको प्रहरी टोलीले तामाङलाई भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोटबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व) मा बुझाएको छ।

तामाङको साथबाट प्रहरीले विभिन्न कम्पनीका ४ थान मोबाइल सेट, तारा बहादुर तामाङको नाममा रहेको नागरिकता प्रमाणपत्र १ थान र गौतम डुम्जन नाममा रहेको नागरिकता प्रमाणपत्र १ थान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट