काठमाडौं : अनलाइन सट्टेबाजी (बेटिङ) सञ्चालन गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धापासी र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका मध्ये १५ जना काठमाडौंको धापासीबाट र २ जना ललितपुरको सनराइज अपार्टमेन्टबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा १२ जना नेपाली र ५ जना भारतीय नागरिक छन्। प्रहरीले उनीहरू ‘७११ ब्याट क्लब’ र ‘युनिकन ३६५’ नामका अनलाइन सट्टेबाजी साइटहरू ह्वाट्सएप र टेलिग्राममार्फत सञ्चालन गरेको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले अनलाइन जुवा कारोबारमार्फत हालसम्म ८१ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन्। उनीहरूको साथबाट ल्यापटप १४ थान, सिम नभएका मोबाइल ६० थान, विभिन्न बैंकका चेकबुक र पासबुक ९ थान, १५ थान भिसा कार्ड, नेपाली र भारतीय राहदानी गरी ८ थान कागजात समेत बरामद गरिएको छ।
पक्राउ परेका नेपालीहरूमा डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महरा, अरविन कुमार खड्का, विष्णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का र पूर्णबहादुर दर्लामी मगर छन्। भारतीयहरूमा ऋषभ राज, दीपक कुमार सिंह, अकिंतकुमार सिंह, धिरजकुमार सिंह र मोहित कुमार सिंह रहेका छन्।
प्रवक्ता काजी कुमार आचार्यका अनुसार उनीहरू विगत दुई–तीन वर्षदेखि भारत, दुबई र नेपालमा सट्टेबाजी गतिविधिमा संलग्न थिए। नेपालमा भने उनीहरूले विगत पाँच महिनादेखि सट्टेबाजी सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको जुवा तथा सट्टेबाजीसम्बन्धी दफा १२५ बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई ललितपुरको जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij