टिम समेट्न देउवालाई दबाब

काठमाडौँ  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।

सभापति देउवाले १४औं महाधिवेशनमा पनि आफू उम्मेदवार बन्न लागेकाले सहयोग गर्न आग्रह गरेको जानकारी दिँदै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले भनिन्, ‘उहाँले म अन्तिमपटक उठ्ने हो, सहयोग गर्नू भन्नुभएको छ। हामीले उपसभापति निधिसहित सम्पूर्ण टिमलाई एक ढिक्का बनाएर अघि बढ्न भनेका छौं।’

देउवाले उपसभापति निधिलाई अर्को पटक सभापतिको उम्मेदवार बन्न आग्रह गरेका थिए। जवाफमा निधिले आफू धेरै अघि बढिसकेको बताएको देउवाले निकटकालाई सुनाएका छन्।

देउवाले आफू टिमका लागि मात्र नभएर सिंगो पार्टीलाई नै एकढिक्का बनाएर अघि बढ्ने पक्षमा रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन्। ‘म सभापतिमा एकपटक उठ्छु, कुनै दुविधामा नपर्नुहोला,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘विगतमा जस्तै तपाईंहरूबाट सहयोगको अपेक्षा गरेको छु।’

सहभागीले १३औं महाधिवेशनमै १४औं महाधिवेशनमा निधिलाई सहयोग गर्ने आश्वासन तपाईं (देउवा) ले दिएको र एक वर्षअघि नै निधिले सभापतिमा आफूले उम्मेदवारी दिने भन्दै सहयोग मागेको विषयमा पनि देउवासँग चासो राखेका थिए। ‘सभापतिमा हाम्रो टिमबाट तपाई निर्विकल्प उम्मेदवार हो,’ सहभागी एक नेताले भने, ‘विमलेन्द्र निधिले पनि सभापतिमा दाबी प्रस्तुत गरेको कुरा बाहिर आएको छ। टिमलाई मिलाएर अघि बढ्नुहोस्। तपाईंले १३औं महाधिवेशनमै उहाँलाई छाड्छु भन्नु भएको कुरा के हो ?’

निधिले सभापतिमा आफू उठ्ने भन्दै सहयोग मागेको स्वीकार गर्दै देउवाले यसपटक आफैं उठ्ने र १५औं महाधिवेशनमा सहयोग गर्ने आश्वासन दिएको बताए। तर त्यसलाई धिनिले अस्वीकार गरेको बताउँदै देउवाले भनेका थिए, ‘१३औं महाधिवेशनका बेला मपछि तँ हो भनेको हुँ। १४औं मै भनेको होइन।’

१३औं महाधिवेशनमा देउवाले निधिलाई महामन्त्रीको उम्मेदवार बन्न आग्रह गरेको जानकारी दिँदै एक नेताले भने, ‘अहिले केही पनि उम्मेदवार बन्दिनँ, तपाईंलाई सहयोग गर्छु, १४औंमा जेको उम्मेदवार बने पनि बन्छु भनेका थिए।’ निधिको चाहना उपसभापति बन्ने भए पनि नेता खुमबहादुर खड्कालाई बनाउने एक प्रकारको समझदारी बनेको स्मरण गर्दै उनले भने, ‘उहाँ (निधि) ले मेरो भूमिका के हुन्छ भन्नुभएको थियो। शेरबहादुरजीले महामन्त्रीको उम्मेदवार बन्न भने पनि उहाँले उठ्दिनँ म अहिले सहयोग गर्छ भन्नुभएको हो।’ १४औं महाधिवेशनमा सहयोग गर्ने भनी दिएको आश्वासनविपरीत देउवा आफैं उम्मेदवार बन्न लागेको भन्दै असन्तुष्ट देखिएका निधि पनि सभापतिमा उम्मेदवारी दिने जनाउँदै तयारीमा जुटेका छन्। यसबाट देउवाका लागि चुनौती थपिएको छ।

विधानले फेरि एक पटक उम्मेदवार बन्ने अधिकार आफूलाई दिएको र पार्टीलाई पुरानै अवस्थामा फर्काएर विराम लिने देउवाको दाबी स्वभाविक भएको र उपसभापतिको जिम्मेवारीमा पुगिसकेको नेताले अर्को महाधिवेशनमा आफू नेतृत्वका लागि असान्दर्भिक हुने भएकाले अहिले नै नेतृत्वको दाबी गर्नु अस्वाभाविक नभएको केन्द्रीय सदस्य मीन विक बताउँछन्।

देउवा र निधि दुवै एकअर्काको सहयोगबिना नेतृत्वमा पुग्ने सम्भावना कम रहेको भन्दै निकट केन्द्रीय सदस्य विक भन्छन्, ‘विमलेन्द्र निधि रिसाउँदा पनि सभापतिमा निर्वाचित हुन्छु भन्ने शेरबहादुर देउवाले र शेरबहादुर देउवाको ग्रिन सिग्नलबिना सभापतिको उम्मेदवारीको औचित्य पुष्टि हुन्छ भन्ने निधिले ठान्नुभए होला जस्तो लाग्दैन।’

नेपाल विद्यार्थी संघको नेतृत्व देउवाले निधिलाई हस्तान्तरण गरेको र पार्टीको नेतृत्व पनि देउवाले आफूलाई हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा अस्वाभाविक नभएको भन्दै विकले थपे, ‘उहाँहरूबीच विगतमा असमझदारी हुँदा तुरुन्दै सहमतिमा परिणत गर्दै नेपाल विद्यार्थी संघदेखि पार्टीको उच्च नेतृत्वसम्म आइपुग्नुभएको छ। एउटै मूलको पानी खाएर यहाँ आइपुगेका नेताहरू मिल्नुहुन्न भन्ने लाग्दैन।’

कसरी चिसियो देउवा–निधि सम्बन्ध ?

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा विमलेन्द्र निधि पुगे । जनकपुरमा भएको संघको महाधिवेशनबाट पार्टी नेता बिपी कोइरालाको प्रस्तावमै निधि संघको अध्यक्ष बनेको कांग्रेस नेताहरू बताउँछन् । संघ हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका देउवा र निधि सुरुमा कांग्रेसभित्रको फरक गुटमा थिए । देउवा कोइराला गुटसँग नजिक थिए भने निधि कृष्णप्रसाद भट्टराईसँग । तर पछि परिस्थितिले दुवै नेता एउटै समूहमा सहभागी भए ।

कांग्रेसको २०५३ मा भएको महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध चिरञ्जीवी वाग्लेले सभापतिमा उम्मेदवारी दिए । २०५१ मै कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहितका नेताहरूको प्रतिनिधित्व गर्दै कांग्रेसका ३६ सांसदले पार्टी नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार गिराउन भूमिका खेलेका थिए । २०५७ को पोखरा महाधिवेशनमा फेरि गिरिजाप्रसाद कोइराला नै उम्मेदवार बन्ने भए । कोइरालाविरुद्ध भट्टराई पक्षबाट रामचन्द्र पौडेललाई सभापतिको प्रत्याशी बन्न आग्रह गरिएको बताउँदै निकट एक नेताले भने, ‘कोइरालाविरुद्ध उहाँ उम्मेदवार बन्न तयार नभएपछि शेरबहादुर देउवालाई हाम्रो समूहबाट सभापतिमा उम्मेदवार बनाएका हौं । त्यसपछि देउवा र निधि एउटै समूहमा मात्र होइन, एकअर्काको परिपूरकका रुपमा काम गर्दै आउनुभएको छ ।’

देउवालाई सभापतिदेखि अहिलेको अवस्थामा पुर्‍याउन र निधिलाई उपसभापतिसम्मको जिम्मेवारीमा पु¥याउन दुवैको महत्वपूर्ण सहयोग र भूमिका रहेको उनले बताए । पार्टीको १३औं महाधिवेशनपछि भने दुई नेताबीचको सम्बन्धमा बिस्तारै चिसोपन आउन थालेको जानकारी दिँदै निकट सदस्यले भने, ‘पुष्पकमल दाहाल नेतृत्व सरकारमा निधिजी उपप्रधान तथा गृहमन्त्री बन्नुभयो । त्यस बेला नेपाल प्रहरीको प्रमुख नियुक्तिलाई लिएर दुई नेताबीच करिबकरिब सम्बन्ध विच्छेदकै अवस्थामा पुगेको थियो ।’

सभापतिले अघि सारेको व्यक्तिलाई निधिले अस्वीकार गरेपछि बढेको चिसो निकटका नेताको समझदारीमा टुंग्याए पनि पहिले जस्तो आत्मीय बन्न नसकेको निकटहरूको बुझाइ छ । दुवैलाई एकअर्काको आवश्यकता रहेकाले एक ठाउँमा उभिए पनि पुरानै अवस्था नभएको बताउँदै उनले भने, ‘एक वर्षअघि निधिले सभापतिको उम्मेदवार बन्ने भन्दै देउवासँग सहयोग मागेपछि दुई नेताबीचको सम्बन्ध औपचारिक मात्र छ ।’ त्यसअघि हरेक निर्णय लिनुअघि देउवाले निधिसँग छलफल गर्ने गरेको जानकारी दिँदै उनले भने, ‘त्यसपछिका दिनमा उहाँ (शेरबहादुर देउवा) ले निधिसँग सल्लाह होइन, दलीय र अन्य छलफलमा सकेसम्म साथै लिएर पनि जानुहुन्न ।’

देउवाले महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रमेश लेखक, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई साथ लिने गरेको स्रोतको दाबी छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।