दमको रोगीले के गर्ने के नगर्ने ?

काठमाडौँ  :  दम फोक्सोको एकखाले जीर्ण रोग हो । यसमा श्वासनलीको मांसपेशीमा संकुचन (खुम्च्याई) आई सास फेर्न गाह्रो हुने तथा यसमा टाँसिने खालको स्राव उत्पादन भई हावाको चलखेलमा झन् बढी अवरोध खडा गर्छ । श्वासनली साँघुरिने प्रक्रिया अस्थायी तवरको भए पनि फोक्सोमा आवश्यक मात्रामा अक्सिजन पुर्‍याउन सकिँदैन र प्रभावित व्यक्तिलाई गाह्रो हुन्छ ।

दम रोगमा सास फेर्न गाह्रो हुने प्रमुख लक्षण भए पनि धेरैजसोमा खोकी लाग्ने, घ्यारघ्यार हुने, छाती दुख्ने, छाती कस्सिएको अनुभव हुन्छ । हप्तामै, दिनमै कहिलेकाहीँ एकैदिन पनि धेरै पटक हुन सक्छ । जसले गर्दा अनिद्रा हुने, थकित हुने, आलस्य लाग्ने गर्छ । दमको समस्या पूर्ण रूपमा निको पार्न नसकिए पनि यसका लक्षण चिह्न नियन्त्रणमा ल्याई सहज जीवनयापनमा मद्दत गर्दछ ।

दमसँग सामना गर्न सकारात्मक पाइला

. चिकित्सकको सहयोगमा दम रोगीले आफ्नो रोगको व्यवस्थापन योजना बनाउने,
. कुन औषधि खाने तथा कुन कुन जोखिम तत्वव परहेज गर्नेबारे थाहा पाउने,
. लक्षण ठीक पार्ने, श्वासनली सुजन कम गर्ने, नियन्त्रण गर्ने औषधि नियमित खाने,
. दम बढाउने खालका जोखिम तत्ववबारे शिक्षित हुने,
. दमले च्यापेको, आफ्नो स्वास्थ्यस्थिति खस्किएको बेलैमा थाहा पाउने,
. कथंकदाचित आपूmलाई कडा खालका दमले च्याप्दा के गर्नु पर्दछ र समस्याबारे उल्लेख गरिएको कार्ड बोक्ने
सन् २०१५ सम्ममा दमको कारण हुने अस्पताल भर्ना आधाले कम गर्ने उद्देश्यका साथ ‘तपाईंले दम नियन्त्रण गर्न सक्नुहुन्छ’ भन्ने नाराका साथ सन् २०१२ मै अभियान चलाएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार ३० करोड मानिस दमबाट प्रभावित छन् । बालबालिकामा बढीजसो हुने जीर्णरोग दम नै हो । निम्न आय भएको मुलुकमा दमबाट धेरैको मृत्यु भइरहे पनि विश्वका सबै देशका मानिस यस समस्याबाट प्रताडित छन् ।

दम के ले हुन्छ भन्ने खास कुरा थाहा नभए पनि अनुवांशिक प्रवृत्ति, बाह्य वातावरण, कतिपय एलर्जेन र चिडचिडाहट पार्ने तत्वव (ट्रिगर) लगायतका जोखिम तत्ववहरू जिम्मेवार छन् । बिछ्यौनामा हुने माइट्स, गलैंचा, फर्निचरमा हुने धुलो तथा ढुसी, घरपालुवा जनावरका रौं तथा छाला, पराग, सुर्तीको धुलो, धूमपान, केमिकल, चिसो पदार्थ, वायु प्रदूषण, चिसो हावा, कतिपय औषधि (एस्पिरिन, बु्रफेन, उच्च रक्तचापका) का साथै तनाव, रिस, डरलगायतका भावनात्मक प्रतिक्रियाहरूले दम निम्त्याउँछ ।

दमरोगमा श्वासनली वा यससँग जोडिएको खण्ड सुन्निन्छ । यस कारणले फोक्सोमा हावा आवत्जावत गर्न सकस हुन्छ । त्यसो त यी एलर्जेन तथा ट्रिगर यसविरुद्ध संवेदनशील व्यक्तिमा प्रतिरक्षा प्रणाली बनिरहेको हुन्छ । पछि फेरि यस्तै कारक तत्ववको सम्पर्कमा आउनेबित्तिकै श्वासनलीमा सुजन गराई तुरुन्तै सास फेर्न समस्या गराइहाल्छ । त्यसो भएर कतिपय मानिसलाई दमको समस्या भए पनि सुषुप्त अवस्थामा हुन्छ अर्थात् सुरुमा कुनै लक्षण चिन्ह देखा परिनसकेको हुन सक्छ । एलर्जीको कारण दम हुने व्यक्तिमा छिट्टै रुघा लाग्ने प्रवृत्ति हुन्छ । मौसममा परिवर्तनसँगै यस्तो समस्या बढोत्तरी हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ३० करोड मानिस दमबाट प्रभावित छन् । बालबालिकामा बढीजसो हुने जीर्णरोग दम नै हो । निम्न आय भएको मुलुकमा दमबाट धेरैको मृत्यु भइरहे पनि विश्वका सबै देशका मानिस यस समस्याबाट प्रताडित छन् ।
दमको समस्या पत्ता लगाउन चिकित्सकलाई जँचाउन लगाएर वा एलर्जी टेस्टबाट हुन्छ । स्पाइरोमेट्री भनिने जाँचले फोक्सोले कस्तो काम गरिरहेको छ, कुनै कुरा गर्न गाह्रो छ, लामो सास लिई फाल्न गाह्रो छ, दमको औषधि लिएपछि हावाको बहावमा कति फरक आयो थाहा हुन्छ ।

के हो एज्मा एट्याक ?

रूखका हाँगाजस्तै श्वासनलीदेखि वायुथैलीसम्म हाँगाबिँगा हुन्छन् । सास भित्र बाहिर क्रममा दमको कारण श्वासनली खुम्चिनुका साथै त्यसभित्र बाक्लो स्रावले नै स्थिति खराब हुन्छ ।

व्यक्तिपिच्छे दमले च्याप्ने पटक र गम्भीरता फरक हुन सक्छ । एकाबिहानै, रातिको समय र व्यायाम (शारीरिक क्रियाकलाप) पश्चात् दमले च्याप्ने सम्भावना हुन्छ । त्यसैले एलर्जी वा ट्रिगर थाहा छ भने टाढा रहनु नै वेश हुन्छ । बढीजसो ढुसी, दाउरा तथा घाँस बाल्दाको धुवाँ बढी हानिकारक हुन्छ ।

दम र खोकीमा फरक

दम र खोकी फरक कुरा हुन् । दमको एउटा लक्षण खोकी भए पनि सबै खोकी दम होइनन् । तर कसैलाई लामो समयदेखि खोकी लाग्ने समस्या छ भने अथवा औषधि खाइसकेपछि पनि खोकी कम भएन भने दम हो कि भनेर शंका गर्नुपर्ने हुन्छ । त्यसो त खोकी फोक्सो तथा श्वासनलीमा रहेको हानिकारक कण फ्याँक्ने शरीरको प्रतिरक्षा प्रणालीअन्तगर्तको कार्य हो । धुलो, कसिंगर, कीटाणु, विषाक्त खानाका कारण पनि खोकी लाग्दछ भने भाइरल संक्रमणका कारण पनि घाँटीको खसखसाएर खोकी लाग्छ । तर जटिल खालको फोक्सोको संक्रमणमा उत्पादन हुने खकार तथा स्रावलाई शरीर बाहिर निकाल्न पनि खोकी लाग्दछ । त्यसैले लामो समयको खोकीले फोक्सो तथा श्वासनलीको समस्याको संकेत गर्दछ ।

उपचार

६ महिना माथिका प्रभावित व्यक्तिले फ्लु तथा न्युमोकोकल भ्याक्सिन (खोप) लगाउनु राम्रो हुन्छ । दमले च्यापेको बेला अस्पतालमा जँचाउन जानुबाहेक घरमै आराम गर्ने, नाक मुख टिस्यु पेपरले छोप्ने, पटकपटक साबुनपानीले हात धोइराख्ने, नाक आँखा मुखमा छोइनराख्ने तथा घर स्कुल कार्यस्थलका तारन्तार छोइराख्ने सामानहरू सफा राख्ने गर्नुपर्दछ ।

उपचारको क्रममा श्वासनली फुकाउने ब्रोङ्कोडाइलेटर तथा सुजन कम गराउने कर्टिकस्टोराइड इनहेलर (सुँघेर लिइने) औषधि सीधै श्वासनली हुँदै फोक्सोमा जाने भएर बढ्ता प्रभावकारी हुनुका साथै औषधिको जटिलता पनि कम हुन्छ । तर सिकिस्त अवस्था तथा स–साना बालबालिका एवं वृद्धहरूमा खाने औषधि वा सुईको माध्यमबाट दिनुको विकल्प हुँदैन ।

प्रभावित व्यक्तिले ट्रिगर वा एलर्जेन विशेष थाहा पाउनु पर्दछ । औषधिसँगै यी कारक तत्ववसँग टाढा रहन सक्यो भने राम्रो हुन्छ । आफ्नो समस्याको अवस्था हेरि सामान्य व्यायाम तथा खेलकदमा कुनै परहेज गर्नुपर्दैन । तर चिसो पानीमा पौडिने, जाडो याममा मर्निङवाक जाने जस्ता कार्य गर्नु हुँदैन ।

एज्मा एट्याकबाट बच्न भने चिकित्सकको निगरानीमा निरन्तर औषधि खानुका साथै ट्रिगर तथा एलर्जेनबाट पनि बच्नु पर्दछ । तुरुन्तै आराम दिलाउने तथा लक्षण चिह्न एक्कासि रोक्ने उपाय गर्नुपर्दछ ।