कोटा प्रणालीबाट रासायनिक मल वितरण गरिदै

भरतपुर : कृषि सामाग्री संस्थान भरतपुरले रासायनिक मल विक्रिवितरणमा कोटा प्रणाली लागु गरेको छ ।

जिल्लाका स्थानिय तहहरुमा समानुपातिक रुपमा मल विक्रिवितरण गर्न गत दुई हप्तादेखि कोटा प्रणाली लागु गरिएको कार्यालय प्रमुख राजन बगालेले बताए । विक्रि प्रणालीलाई पारदर्शी बनाउन चितवनबाट पहिलोपटक यो अभियान शुरु गरेको उनको भनाई छ ।

युरिया, डिएपी र पोटास मलको विक्रिवितरण गर्दै आएको कृषि सामाग्री संस्थानले चितवनका सातवटै स्थानिय तहलाई प्रतिशतको आधारमा कोटा प्रणाली निर्धारण गरिएको कार्यालय प्रमुख बगालेले चित्रवन अनलाईनलाई जानकारी दिए ।

सामाग्रीको भण्डारण कक्षमा मलको परिमाण रहेको आधारमा कोटा प्रणाली लागु गरिएको छ । जसअनुसार भरतपुर महानगरले ६३ दशमलव १८ प्रतिशत, रत्ननगरले ५३ दशमलव ४ प्रतिशत, राप्तीले ४६ दशमलव १९ प्रतिशत , कालिकाले ४४ दशमलव ७९, माडीले ३७ दशमलव ८६, खैरहनी नगरपालिकाले ५३ दशमलव २१ प्रतिशत र इच्छाकामना गाउँपालिकाले १ दशमलव ७३ प्रतिशत पाउने गरेको संस्थानका प्रमुख बगालेले जानकारी दिए ।

उक्त कोटा प्रणाली अन्तर्गत विक्रिवितरण गर्ने मल स्थानिय तहले दिएको शिफारिसको आधारमा जिल्लाका कृषि सहकारी संस्थालाई मल विक्रिवितरण गरिएको उनले बताए ।

आज आइतबारको विक्रिको लागि डिएपी २ सय २६ दशमलव १ सय ५० मेट्रीकटन अर्थात ४ हजार ५ सय २२ बोरा, युरिया १ सय २१ दशमलव ८५ मेट्रीकटन ( २४३७ बोरा) र पोटास २७ दशमलव १५० मेट्रीकटन ( ५५३ बोरा) भण्डारण गरि राखिएको प्रमुख बगालेले जानकारी दिए ।

त्यसैगरी कृषि सामाग्री संस्थानले जेठ महिनामा ३ करोड ९४ लाख १८ हजार ८ सय बराबरको एक हजार ५ सय १४ दशमलव ९ मेट्रीकटन ३० हजार २ सय ५८ बोरा रासायनिक मल विक्रिवितरण गरेको पनि उनले जानकारी दिए ।

जसमा युरिया १९ हजार ३ सय बोरा डिएपी ८ हजार ९ सय ६० बोरा र २ हजार ३९ बोरा पोटास रहेको थियो ।