तामाकोशीको तटीय क्षेत्रमा जोखिम कायमै, सतर्कता अपनाउनू : दोलखा प्रशासन

काठमाडौँ :  तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी अझै पूर्ण रुपमा नखुलेसम्म तामाकोशी क्षेत्रमा जोखिम कायमै रहने भएको छ । रोङ्सी खोला थुनिएर तालको रूप लिएपछि शनिबार दिउँसोदेखि चिनियाँ टोलीले ताल खुलाएर सीमित जल प्रवाह शुरू भएकाले तत्कालै ठूलो खतरा टरे पनि पूर्णरूपमा जोखिम नटरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

थुनिएको नदी खुलाइएको तर अनुमानित एक लाख घनमिटर पानी जम्मा भएकाले बिस्तारै कम गर्ने प्रयास भइरहेको चिनियाँ पक्षले जानकारी गराएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

 

जलाशयको पानी पूर्ण रुपमा खाली नभएसम्म सीमावर्ती क्षेत्र तथा तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।