बारपाकमा अक्सिजनको मिनीप्लाण्ट निर्माण, आइसोलेशन वार्डलाई नै १२ शैयाको अस्पताल

गोरखा : गोरखाको बारपाकमा अक्सिजनको मिनीप्लाण्ट निर्माण सम्पन्न भएको छ । दैनिक ७० लिटर क्षमताको अक्सिजन मिनीप्लाण्ट महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको करिब ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

अक्सिजन मिनीप्लण्ट निर्माणका लागि उपकरण तथा जडान खर्च को रु ३० लाख महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बारपाकलाई सहयोग गर्दा स्थानीय हर्सित भएका छन् । बारपाक स्वास्थ्यचौकी परिसरमै रहेको महिला समूहको भवनमा निर्माण गरिएको १२ बेडको आइसोलेशन वार्डमा अक्सिजनप्लाण्ट जडान गरिए संगै अब १२ जना बिरामीलाई सेवा दिन सकिने भएको छ ।

अक्सिजन मिनीप्लनट निर्माण भए संगै अब बारपाक स्वास्थ्य चौकीमा छिट्टै भिडियो एक्सरे, ल्याब र १२ बेडको अस्पताल संचालनको तयारीमा आफुहरु लागि परेको बारपाक सुलीकोट गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष लालबहादुर गुरुङले बताउनु भयो । जनशक्तिको अभाव रहेपनि त्यसका लागि पनि आफुहरु लागि परिरहेको उहाँको भनाई छ । हाल निर्माण गरिएको आइसोलेशन वार्डलाई नै १२ शैयाको अस्पतालका रुपमा विकास गर्ने योजना रहेको वडाअध्यक्ष गुरुङको भनाई छ ।

ल्याब सञ्चालनका लागि बारपाक घर भई वैदेशिक रोजगारीको क्रममा हाल इराकमा रहेकाहरुले आर्थिक संकलन गरिरहेका छन् ।