बाढीपहिरोले अवरुद्ध १८ वटा सडक पुनः सञ्चालन

काठमाडौँ : अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका सडक सञ्चालनमा आएका छन् । देशभर अवरुद्ध भएका राजमार्ग र सडकमध्ये १८ वटा पुनः सञ्चालनमा ल्याइएको हो ।

बाढीपहिरोका कारण अहिलेसम्म देशका ३१ ठाउँमा सडक अवरुद्ध भएकोमा १८ ठाउँमा पुनः सञ्चालनमा ल्याइएको सडक विभागले जनाएकबो छ । जसमध्ये तीन ठाउँमा दुईतर्फी र १५ ठाउँमा एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर जिल्लाको गैँडाकोट धुम्सी खण्ड, पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मुग्लिन खण्डमा र राप्ती राजमार्गअन्तर्गत सल्यानको शङ्खमूल भन्ने ठाउँमा पहिरो हटाई राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको सडक विभागका महानिर्देशक अर्जुनजङ्ग कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको पिपलडाँडा भन्ने ठाउँमा, कर्णाली राजमार्गअन्तर्गत दैलेखको बाँगेसिमल–कालाखाला सडकखण्ड र कालाखाला–सैन सडकखण्ड र दरबारे–बोटखाला सडकखण्ड र खोड्पे–चैनपुर राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोड भन्ने ठाउँको अवरोध हटाई एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत नै कालीमाटी सिसुवा भन्ने ठाउँमा, सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडकअन्तर्गत कालीकोटको बालीघाट धनाडा भिग्म भन्ने ठाउँ, तानसेन–रिढी–कोरला राजमार्गअन्तर्गत पाल्पाको ढुङ्गाखानी भन्ने ठाउँ, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको ड्याम साडट र राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट भन्ने ठाउँको अवरोध हटाई सडक एकतर्फी सञ्चालनमा ल्याइएको सडक विभागका महानिर्देशक अर्जुनजङ्ग कार्कीले जानकारी दिनुभयो ।

अवरुद्ध १३ ठाउँमा अवरोध हटाउने प्रयास भइरहेको जनाईएको छ