नेपालीको हरेक समस्या समाधान गर्ने प्रतिवद्धता सहित डिलु पराजुलीको उपाध्यक्षमा उम्मेदवारी

टेक्सास । गैर आवासीय नेपालीहरूको साझा संस्था एनआरएनए अमेरिकाको ‘मे’ अन्तिममा हुने निर्वाचनमा डिलु पराजुलीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । एनआरएनए अमेरिकालाई विशुद्ध सामाजिक संस्था बनाउने उद्देश्य सहित पराजुलीले उपाध्यक्ष पदमा उम्मेदवारी लिने निर्णय गरेकी हुन् । अमेरिकामा रहेका नेपालीहरूलाई जन्मभूमीसँगको सम्बन्धमा सहजीकरणदेखि यहाँ बसोबासका क्रममा आइपरेका समस्यालाई समाधान गर्न आफू अग्रसर रहने प्रतिपद्धता उहाँले गर्नुभएको छ ।
‘अमेरिकामा हुने हरेक गतिविधिलाई पारदर्शी ढंगबाट बढी भन्दा बढी प्रभावकारी बनाउँदै अघि बढ्ने मेरो योजना र सोच छ,’ उनले उपाध्यक्षमा उम्मेदवारी दिने जानकारी गराउने क्रममा भन्नुभयो ‘उपाध्यक्षको भुमिका भनेको समाज र संस्थामा समर्पित भएर यसैमा आफूलाई समाहित गर्नु हो ।’
आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्दै यहाँ रहेका नेपालीको हक, हित र अधिकारका लागि लड्नु र संस्थालाई आम गैर आवसीय नेपालीहरूको साझा संगठन बनाउने प्रण आफूले गरेको उहाँले बताउनु भयो । ‘नेपालीहरू एकवद्ध हुन सके हामीले प्रवासमा बस्दा पनि दोस्रो दर्जाको नागरिक भनेर महसुस गर्नु पर्दैन,’ उहाँले भन्नुभयो ।
हामी नेपालीहरूबीच एकजुट भएमा अर्थात एउटै मालामा उनिन सकेमात्र यो विदेशी भूमीमा हाम्रो पहिचान र अस्तित्व रहने हो । अब तपाईहरू नै भन्नुस् हामी स्वाभिमानी भएर बाच्ने कि टाउको लुकाएर शरणार्थी भएर ?
हो, मैले चाहेको हामी हाम्रो आफ्नो पहिचान सहित विश्वका जुन कुनामा रहेपनि बाच्न पाउनु पर्छ भन्ने नै हो । हामीले आफ्नो अस्तित्व कायम गर्न सक्यौ भनेमात्र हाम्रा सन्ततीले यहाँ गर्वका साथ बाच्न पाउँछन् । त्यसैले आगामी निर्वाचनमा मलाई भोट दिएर निर्वाचित गराउन म यहाँहरू समक्ष आग्रह गर्न चाहन्छु ,’ पराजुलीले भनिन् ।