सरकारविरुद्ध छापामार युद्ध गर्न बन्दुक बोकेर जंगल पसिन् सुन्दरी

काठमाडौं : म्यान्मारमा सेनाले त्यहाँको निर्वाचित सरकारलाई अपदस्थ गरी शासनसत्ता हातमा लिएपछि त्यहाँकी एक ब्युटी क्विनले विद्रोह गरेकी छिन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेकी यी सुन्दरी अहिले बन्दुक बोकेर जुन्ता सरकारविरुद्ध छापामार युद्ध गर्ने सोचका साथ जंगल पसेकी छिन् । म्यान्मारमा सैन्य कू भएको १०० दिनमा ३२ वर्षकी यी सुन्दरीले आफू विद्रोहमा सहभागी भएको घोषणा गरेकी हुन् । उनले अत्याधुनिक हतियारका साथ आफ्नो फोटो सामाजिक संजालमा पोस्ट गर्दै यस्तो जानकारी दिएकी हुन् ।

यी सुन्दरी अब सेनाको विरुद्ध विद्रोहको लागि त्यहाँ पहिलेदेखि नै संघर्षरत स्थानीय विदेही समूहसँग जोडिएकी छिन् । २०१३ मा पहिलो मिस ग्रयाण्ड इन्टरनेशनल ब्युटी पेजेन्टमा म्यानमारको प्रतिनिधित्व गर्दै सहभागी भएकी सुन्दरी तार तेत तेतले एसल्ट राइफलको साथमा आफ्ना केही तस्वीरहरु आफ्नो ट्वीटरमार्फत पोस्ट गरेकी छिन् । उनले फोटोहरु ट्वीट गर्दै अर्जेन्टिनी क्रान्तिकारी नेता चे ग्वेभाराको प्रसिद्ध भनाइ लेखेकी छिन् ‘क्रान्ति स्याउजस्तो होइन जो पाकेपछि झर्छ । तपाइँले यसलाई खस्ने बनाउनुपर्छ । हामीले कुनै हालतमा जित्नुपर्छ ।’

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्टअनुसार उनले भनेकी छिन् ‘एक पटक फेरि लड्ने समय फर्केर आएको छ । चाहे तपाइँ एक हतियार, कलम, किबोर्ड राख्नुस् वा लोकतन्त्र समर्थक आन्दोलनको लागि पैसा दान गर्नुस् । जो कोहीले सफल हुने कोसिस गरिरहनुपर्छ । म संघर्ष जारी राख्नेछु । म आफ्नो जीवन पनि बलिदान गर्नको लागि तयार छु ।’ उनको यो घोषणा र आह्वानपछि ठूलो संख्यामा मानिसहरु त्यहाँको सैनिक जुन्ता सरकार विरुद्ध समूहमै विद्रोहमा सहभागी हुन सक्ने मानिएको छ ।

तार तेत तेतले ८ वर्ष पहिले ६० जना प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै ब्युटी क्विनको उपाधि जितेकी थिइन् । यी उनै तार तेत तेत हुन् जसले ८ वर्षअघि सौन्दर्य प्रतियोगितामा पनि सैन्य सरकारविरुद्ध बोलेकी थिइन् । उनले त्यतिबेला प्रतियोगिताको क्रममा सेनाको अत्याचारको विषयमा सार्वजनिक रुपमा बोल्दै पूरै विश्वको ध्यान आफ्नो देशको बिग्रिएको अवस्थातिर तानेकी थिइन् । अहिले उनी जिमन्यास्टिकको प्रशिक्षक थिइन् । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार म्यानमारमा पछिल्लो सैन्य कूपछि अहिलेसम्म ८ सय मानिस मारिइसकेका छन् । हजारौं घाइते छन् ।