सरकार अक्सिजन आपूर्तिमा सहयोग नगरे बिरामी भर्ना गर्न नसक्ने अवस्था आउछ: चितवन मेडिकल कलेज

चितवन : चितवन मेडिकल कलेज शिक्षण अस्पतालले सरकारले अक्सिजन आपूर्तिमा सहयोग नगरे अक्सिजनको अभावमा बिरामी भर्ना गर्न नसक्ने अवस्था आउने चेतावनी दिएको छ । शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले शनिबार एक फेसबुक स्टाटस अपडेट गर्दै चेतावी दिएका हुन् ।

उनका अनुसार अस्पतालको अक्सिजन प्लान्टबाट हाल ५०० लिटर प्रतिमिनेटको दरले अक्सिजन उत्पादन भइरहेको छ । उसले ४०० वटा सिलिण्डर अक्सिजन अन्य उद्योगबाट ल्याएको जनाउँदै प्रबन्ध निर्देशक न्यौपानेले सरकारले सहयोग नगरे अक्सिजन चाहिने कुनै बिरामी भर्ना गर्न नसक्ने उल्लेख गरेका हुन् । चितवनका अन्य अस्पतालाई सरकारले अक्सिजन सिलिण्डर वितरण गरिरहेको अवस्थामा मेडिकल कलेजलाई पनि उपलब्ध गराउने विश्वास लिएको बताएका छन् ।

उनले स्टाटसमा लेखेका छन्, “हाल चितवनका विभिन्न अस्पताललाई अक्सिजनको संकट नआओस् भन्ने हेतुले सरकारी निकायद्वारा सिलिण्डरको वितरण भइरहेको र केही मात्रामा सिलिण्डर साथै अक्सिजन अपुग हुन जाने मौखिक जानकारी पाइएको छ । जति धेरै सिकिस्त बिरामी भए, त्यति नै धेरै अक्सिजन उपभोग हुने कुरालाई मनन गरेर सिलिन्डर वितरण गर्नु हुनेछ भन्ने कुरामा पनि हामीले विश्वास लिएका छौं । यदि अक्सिजन सप्लाई कम हुने हो भने अब उप्रान्त हामी अक्सिजन चाहिने कुनै पनि बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा सर्वसाधारणलाइ साह्रै दुःखका साथ जानकारी गराउन चाहन्छौं ।”

हाल जिल्लामा सबैभन्दा धेरै संक्रमितको उपचार चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा नै हुँदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार सीएमसी शिक्षण अस्पतालले कोरोना भाइरसका बिरामीका लागि कूल २ सय ६० वटा शय्या छुट्याएको छ । जसमा १८१ वटा बेड भरिइसकेका छन् । अस्पतामा उपचार गराइरहेकामध्ये १८४ जना आइसीयू तथा २९ जना एचडीयु कक्षमा छन् । अस्पतालले ३५ वटा बेडमा भेण्टिलेटरको व्यवस्था गरेकामा ३४ वटा भेण्टिलेटर प्रयोगमा रहेका छन् ।