राजेन्द्र महतो जसपा संसदीय दलको नेतामा चयन

काठमाडौँ : राजेन्द्र महतो जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा चयन भएका छन् ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको जानकारी दिँदै उनले भने, ‘भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

वैकल्पिक सरकार गठनमा साथ नदिएपछि अध्यक्ष यादव र बाबुराम भट्टराई पक्ष अध्यक्ष ठाकुर र महतोसँग रुष्ट बनेका छन् । साथै, ठाकुर र महतोले ओली सरकारकै निरन्तरता चाहेपछि जसपामा आन्तरिक विवाद चर्किदै गएको छ ।