चितवन समाज अष्ट्रेलियाद्धारा भरतपुर अस्पताललाई अक्सिजन हस्तान्तरण

चितवन : चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । चितवन मूल घर भइ अष्ट्रेलियामा बसोबास गर्ने नेपालीद्वारा गठित सो संस्थाले नेपालका अक्सिजन उद्योगलाई रकम पठाइ १० अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराइएको हो ।

ओमसञ्जीवनी अक्सिजन सप्लायर्सका सञ्चालक नीरञ्जन न्यौपानेले आज ती सिलिण्डर भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा डा अधिकारीले समाजका अध्यक्ष पूर्ण घिमिरेले अस्पताललाई थप सहयोग गर्ने आश्वासन समेत दिएको जानकारी दिनुभयो ।

सुपरिटेण्डेन्ट डा तिवारीले भन्नुभयो “हामीलाई यहाँ अक्सिजनको समस्या छ । तत्काल यसलाई जोडेर बिरामीलाई अक्सिजन दिनु पर्ने बाध्यता रहेको छ ।” नेपाल पत्रकार महासङ्घका अध्यक्ष नारायण अधिकारी मानवीय सेवामा जुट्न सञ्चारकर्मीलाई आह्वान गर्नुभयो ।

संस्थाका संरक्षक केशबप्रसाद सापकोटाको संयोजकत्वमा सदस्यहरु सस्थामा अध्यक्ष पूर्ण घिमिरे, विकास वर्ताैला, सीता सुवेदी र श्यामसुन्दर गिरी रहेको आर्थिक सङ्कलन समिति बनाइ सहयोग जुटाएको हो । संस्थाले जिल्लामा मानवीय सेवाका विभिन्न काम गरेको छ ।    रासस