नेपाल प्रवेशको लागि १३ नाका खुल्ला (सूची सहित)

काठमाडौं : सरकारले नेपाल प्रवेशको लागि १३ नाका खुल्ला मात्रै खुला गरेको छ । सरकारले नागरिकलाई सहज होस् भनेर भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका मात्रै खुला गरेको हो ।

कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत बताएका छन् ।

कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हाल राजधानी लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

गृहमन्त्रालयका अनुसार अहिले देशभर ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको उल्लेख छ । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै यी सीमानाका खुला रहने बताइएको छ ।

सरकारले हवाई मार्गबाट आउन सम्भव नभएका नेपालीहरुलाई नेपाल फर्किन सहज होस् भनेर स्थलमार्गबाट पनि नेपाल आउने बाटो खोलेको जनाएको छ । सुदूर पश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।

यी हुन् नेपाल प्रवेशको लागि अनुमति दिइएका १३ नाकाहरु :

१. पुलाघाट – दार्चुला

२. झुलाघाट – बैतडी

३. गड्डा चौकी – कञ्चनपुर

४. गौरीफन्टा – कैलाली

५. जमुनाह – बाँके

६. कृष्णनगर –कपिलवस्तु

७. बेलहिया – रुपन्देही

८. वीरगञ्ज – पर्सा

९. गौर – रौतहट

१०. भित्तामोड –धनुषा

११. जोगबनी – मोरङ

१२. काँकडभिट्टा – झापा

१३. पशुपति नगर – इलाम