माडीमा चेपाङ्गको घरमा खानाको अभाव

अजित अधिकारी
चितवन : बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण बिश्वको जनजीवन नै आक्रान्त बनिरहेका बेला विशेषगरी काम गरेर खाने मजदुर बर्गहरु नै समस्यामा परेका छन । यस्तो समस्या खासगरी अहिले देशका कुनै एक क्षेत्रमा मात्र होइन । सबै क्षेत्रमा यसको प्रभाव देखिएको छ । जहाँ काम गरेर खाने भुमिहिन सुकुम्बासी, मजदुर बर्ग एबम चेपाङ्ग समुदायका बर्गहरु नै अति मारमा परेका छन ।

यस्तै समस्या माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोलाको सिरानमा रहेका चेपाङ्ग बस्ती र माडीका अन्य क्षेत्रमा छरिएर रहेका चेपाङ्ग बस्तीमा देखिएको छ । कोभिडको समयमा सो क्षेत्रमा रहेका सबै चेपाङ्गको घरमा खानाको समस्या देखिएको हो । उनीहरू भन्छन्, स्थानीय सरकारले घरहरु निर्माण गरिदिने भनेर आश्वासन मात्र दियो । तर अहिलेसम्म घरहरु निर्माण हुन सकेन । हामीहरुले नै जिताएर पठाएको सरकारले, हाम्रो घर भन्दा पनि मन्दिरलाई नै बढी प्राथमिकता दियो । सुरुमा मन्दिरसंगै चेपाङ्गका घरहरु पनि बन्छ । भनेर झुटा आश्वासन मात्र हामिहरुलाई दिए ।

कोभिडको समयमा न हामीसंग बस्ने राम्रो घर नै छ । न खानाको लागि चामल छ । खेती किसान गरौं भने आफ्नो जग्गा छैन । यस्तो नाजुक अबस्थामा जीबन गुजार्न बाध्य हुनुपरेको स्थानीय कमल चेपाङ्गले चितवन अनलाईन खबरसंग बताए । उनका अनुसार, खानेपानीको समस्या रहनुका साथै, नगरपालिकाले घर निर्माण गरिदिन्छु, भनेर हामी सोझा साझा गरिब जनतालाई झुक्याएको आरोप लगाए । चुनाबका बेलामा मात्र हामीलाई सम्झने अनि हामीलाई आपत बिपत पर्दा नसम्झ्ने कस्तो निर्दयी सरकार भन्दै अर्का स्थानीय छबी चेपाङ्गले आक्रोश पोखे । अहिले कोभिडको महामारीमा काम गरेर खाने बाताबरण छैन । यदि काम पाइहाले पनि कता कोही कसैबाट रोग सर्छ कि भन्ने डरले सताउँछ ।

काम नगरी बिहान बेलुका कसरी हात मुख जोड्ने, अनि कसरी जहान परिवार पाल्ने भन्ने चिन्ताले सताउँछ । न खाउ दिनभरिको सिकार खाउ भने, आफ्नै कान्छा बाबुको अनुहार जस्तै भएको स्थानीय कमल चेपाङ्गले बताए । उनी भन्छन्, हामीलाई यस्तो अबस्थामा सरकारले हेर्दैन, हेर्छ त खाली उहि चुनाबका बेला अनि कतै सभा सम्मेलन भए भने लौ लौ सबैजना जाउ है । फलानो नेता आउदै छन रे, जानुपर्छ है भन्ने मात्र खबर आउछ । तर अहिले तपाईहरुलाई कस्तो छ । तपाईंहरुका समस्या केके छन । भन्ने कुरा कसैले गर्दैन्न, उहि सबैले बन डढेको मात्र देख्दा रछन । मन जलेको कसैले देख्दा रहेनछन । भन्दै स्थानीय कमल चेपाङ्गले पत्रकारहरु संग दुखेसो पोखे । अहिले त्यस क्षेत्रमा झन्डै ४० घरधुरीहरु रहेका छन । भने अधिकांश घरहरु निर्माणको क्रममा नै छन । यसैगरी स्थानीय सरकारले निर्माण गरिदिने भनेका घरहरु अहिले त्यसै पिल्लरमात्र ठडिएर बसेका छन । अहिले सो क्षेत्रमा बसोबास गर्ने अधिकांश चेपाङ्ग समुदायहरु कुसुमखोलाबाट बसाइँसराइगरि आएका हुन ।