गैँडाकोटका कोरोना संक्रमितका लागि नगरपालिकाद्धारा दुई एम्बुलेन्स तयार

गैँडाकोट : गैँडाकोट नगरपालिकाले नगरभित्रका कोरोना संक्रमितको शिघ्र उपचारका लागि अस्पताल पुर्याउन दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । नगरप्रमुख छत्रराज पौडेलका अनुसार नगरभित्र दुई वटा एम्बुलेन्स कोरोना संक्रमितको सेवाका लागि तयारी अवस्थामा राखेको र उनीहरुले निशुल्क सेवा दिने उहाँको भनाई छ ।

दुई मध्ये एउटा नगरपालिका परिसरमा र अर्को अमरापुरीमा राखिएको पौडेलले बताउनुभयो । नगरमा रहने एम्बुलेन्स किसान साकोसको हो भने अमरापुरीमा यसअघिकै एम्बुलेन्सले सेवा दिने नगरप्रमुख पौडेलले बताउनुभयो । किसान साकोसको एम्बुलेन्स नगरपालिकाले भाडामा लिएर जनताको सेवाका लागि तयारी अवस्थामा राखेको हो ।

नगरपालिकामा विभिन्न संघसंस्थाको सहित सात वटा एम्बुलेन्स रहेको भएपनि संक्रमितको उपचारका लागि समयमै सेवा पाउन कठिन हुने सम्भावनालाई ध्यानमा राखी दुई एम्बुलेन्स छुट्याइएको हो । नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले एम्बुलेन्स आवश्यक पर्ने संक्रमितहरुले सिधै स्वास्थ्य शाखामा वा वडाअध्यक्ष सहितका जनप्रतिनिधिलाई खवर गर्न सक्ने बताउनुभयो ।

आफूलाई अस्पताल जानुपर्ने अवस्था महसुस हुनासाथ खवर गर्न आग्रह गर्दै स्वास्थ्यमा खेलवाड नगर्न अनुरोध गर्नुभएको छ । साथै आफूलाई कारोना संक्रमण भएको रहेछ भने तुरुन्तै स्वास्थ्य शाखामा खवर गरी आफ्नो रेकर्ड कायम गर्न पनि उहाँको आग्रह छ । यसो हुँदा संक्रमितको स्वास्थ्य अवस्था सहित अन्य जानकारी लिन सहज हुने र यसले उपचारमा मद्दत मिल्ने पौडेलले बताउनुभयो ।

गर्भवति महिलाहरुका लागि पनि एम्बुलेन्स

नगरप्रमुख छत्रराज पौडेलका अनुसार कोरोना संक्रमणको समय गर्भवती महिलाहरुका लागि छुुट्टै एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । नगर अस्पताल पितौजीमा रहेको एम्बुलेन्सले गर्भवति महिलाहरुका लागि मात्रै सेवा दिने छ । कोरोना संक्रमितलाई सेवा दिने एम्बुलेन्सलाई अन्य विरामी नबोक्न अनुरोध सहित पितौजीको एम्बुलेन्सलाई सो सेवाका लागि खटाइने भएको हो ।

पितौजीमा २० वेड आइसोलेसन तयार

कोभिड १९ को दोस्रो लहरले संक्रमितहरुलाई गम्भिर अवस्थमा पुर्याउने सम्भावनालाई मध्यनजर गरी पितौजीमा २० वेडको आइसोलेसन तयार पारिएको छ । सवै तयारी अवस्थामा रहेको र ढिलोमा भोलिसम्म अक्सिजन जडान गरिने नगरप्रमुख पौडेलले बताउनुभयो । त्यहाँ उपचार गर्न बस्नेहरुलाई खाना भने परिवारले उपलब्ध गराउनुपर्ने छ । अन्य स्वास्थ्य उपचार, चिकित्सकीय सेवा लगायत निुःशल्क रहने गरी आइसोलेसन तयार पारिएको हो । आइसोलेसनमा रहदा पनि जटिल अवस्था आएमा भरतपुरमा उपचारका लागि समन्वय गर्ने पनि नगरपालिकाले जनाएको छ ।

आज उपप्रमुख विष्णुकुमारी कडेँल, प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज सुर्यप्रसाद आचार्य सहित बसेर माथिको व्यवस्था मिलाइएको हो ।

साथै यो महामारीमा आवश्यक पर्ने औषधि लगायतका सामाग्रीमा कुनै कमी नराख्न नगरप्रमुख पौडेलले निर्देशन दिँदै जिल्लामा जारी निषेधाज्ञाको पूर्ण पालना गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ ।