प्रतिनिधिसभाको बैठकअघि सबै सांसदको अनिवार्य पीसीआर परीक्षण

काठमाडौं : संघीय संसदको विशेष अधिवेशन आह्वान गरेपछि संसद सचिवालयले सांसदहरुको पीसीआर परीक्षण गरिने भएको छ। संघीय संसदका सबै सांसदहरुको बुधबार र बिहीबार पीसीआर परीक्षण गरिने संसद सचिवालयले जनाएको छ।

वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएपछि त्यसअघि सांसदहरूको पिसिआर परीक्षण गर्न लागिएको हो। संसद भवन नयाँ बानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुने सचिवालयको भनाइ छ।

कोरोना परीक्षण गर्न सचिवालयले सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ। संसद सचिवालयका कर्मचारी, आइसिसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुने बताइएको छ। अघिल्ला अधिवेशनहरूमा बैठकअघि सांसदहरूको पीसीआर परीक्षण गरिएको थियो।

‘संघीय संसद्का सबै माननीयज्यूहरुको यही वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुनेछ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भनेका छन्, ‘सचिवालयका कर्मचारी, आईसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुनेछ।’

Promise Education Consultancy