हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

रत्ननगर : गायत्री हरिहर मन्दिर, रत्ननगरका आजीवन सदस्य एवं सल्लाहकार रत्ननगर १० दुरसञ्चार रोड निवासी समाजसेवी केदारनाथ उपाध्यायले निर्माणाधीन हरिहर धर्मशालाका लागि ६ लाख ५ हजार ७०७ रुपैयाँ सहयोग गरेका छन् ।

बाग्लुङको जैमिनी नगरपालिका ४ मौलाहाबाट बसाइँसराइ गरी रत्ननगर आएका उनले यसअघि पनि गायत्री हरिहर मन्दिरमा मूलगेट निर्माण, गणेश मन्दिरमा १०८ पाला चढाउनुका साथै पटक–पटक आर्थिक सहयोग गर्दै आएका छन् ।धर्मानुरागी एवं शिक्षाप्रेमी केदारनाथ तथा उनकी धर्मपत्नी लक्ष्मीलाई प्रदेश सांसद् कृष्णप्रसाद खनालले रामनामी ओढाएर सम्मान गरे ।

यस्तै, पर्वतको साबिक धाइरिङ धाहाखेत वडा नं ७ बाट बसाइँ सरी रत्ननगर ८ बाघमारा बसोवास गर्ने गायत्री हरिहर मन्दिर, रत्ननगरका आजीवन सदस्यद्वय सुनिल आचार्य र उनकी धर्मपत्नी रत्नकुमारी आचार्यले ९७ हजार १११ रुपयाँ सहयोग गरेका छन् ।

सो रकम गायत्री हरिहर मन्दिर परिसरमा वैशाख १० गतेदेखि चैत १० गतेसम्म सञ्चालन हुने हरिनाम सङ्कीर्तनमा सहभागी भक्तजन र गुरूकुलम्का गुरू र बटुकको लागि मध्यान्ह प्रसादी व्यवस्थापनका लागि सहयोग गरिएको हो । गायत्री हरिहर मन्दिरमा हरेक महिनाको १० गते हरिनाम सङ्कीर्तन सञ्चालन हुँदै आएको छ । सांसद् खनालले समाजसेवी आचार्यलाई दशनामी ओढाएर सम्मान गरे ।

कार्यक्रममा गायत्री हरिहर मन्दिरका अध्यक्ष नेमराज पौडेल, हरिहर धर्मशाला निर्माण समितिका अध्यक्ष शंकर गिरीलगायतले समाजसेवी र दानवीर व्यक्तिहरुको सहयोगबाट मन्दिर व्यवस्थापन र गुरूकुल सञ्चालनमा सहयोग पुगेको बताए । कार्यक्रम गायत्री हरिहर मन्दिरका सचिव सोमप्रसाद भट्टले सञ्चालन गरेका थिए ।

 

Promise Education Consultancy