अति आवश्यक परे मात्रै भरतपुर अस्पताल आउन सर्वसाधारणमा अपिल

भरतपुर:  भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले आज एक अपिल प्रकाशित गरी अस्पतालमा भिडभाड हुँदा कोभिड १९ (कोरोना) संक्रमणको जोखिम बढी हुने जनाएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेट डा. जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको संक्रमणको अनुपात दिनानुदिन बढ्दै गईरहेकोले अस्पतालमा धेरै भिडभाड हुँदा संक्रमणको जोखिम बढी हुने जनाईएको छ । अपिलमा भनिएको छ “अति आवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौं ।”

अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, साबुन पानीले समय समयमा हात धुने वा स्यानिटाईजर प्रयोग गर्ने, भौतिक दूरी काम गर्ने जस्ता कार्य अनिवार्य रुपमा पालना गर्न पनि आग्रह गरिएको छ । अपिलमा कोभिड संक्रमण हुनबाट आफू बच्न र अरुलाई पनि बचाउन भनिएको छ ।

Promise Education Consultancy