वैशाखभित्रै शिक्षकको बिज्ञापन हुने, कसरी गर्ने तयारी ?

काठमाडौं  :  शिक्षक सेवा आयोगले अब नयाँ संरचनामा शिक्षकको विज्ञापन गर्ने भएको छ । गत वर्षको असोजमा संशोधन भएको शिक्षक सेवा आयोग दशौँ संशोधन नियमावलीले नयाँ संरचना अनुसार विज्ञापन गर्नुपर्ने व्यवस्था गरेसँगै आयोगले पनि त्यसै अनुसार विज्ञापन गर्ने भएको हो । नियमावलीमा व्यवस्था गरिए अनुसार आयोगले माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन प्रदेशस्तरमा र प्राथमिक तहको विज्ञापन जिल्लास्तरमा गर्नेछ ।

अब नियमावली संशोधन भएसँगै निम्न माध्यमिक र माध्यमिक तहको हकमा आयोगले अब रिक्त शिक्षकको पदपूर्ति प्रदेशस्तरमा गर्नेछ । नियमावलीमा भनिएको छ, ‘आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्नेछ । यसरी विज्ञापन गर्दा प्राथमिक तहको हकमा जिल्लागत निम्नमाध्यामिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ ।’

सामुदायिक विद्यालयका शिक्षकहरुको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारिश गर्न, शिक्षकका लागि आवश्यक पर्ने अध्यापन अनुमतिपत्र प्रदान गर्न र शिक्षकको सेवा शर्त र सुविधा सम्बन्धी विषयमा सरकारलाई सुझाव दिन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०५५ ले दिएको सुझावअनुरुप शिक्षा ऐन, २०२८ मा भएको छैंठौं संशोधनले २०५६ सालमा राष्ट्रिय शिक्षक सेवा आयोगको गठन भएको थियोे । त्यसपछि वि सं २०५८ साल माघ २५ गते शिक्षा ऐन, २०२८ मा भएको सातौं संशोधनद्वारा शिक्षक सेवा आयोग गठन भएको हो । आयोगले हालसम्म ५७ हजार लाई स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ।

लामो समयदेखि शिक्षकको बिज्ञापन नहुंदा यसबारे चासो बढेको छ । शिक्षक सेवा आयोग तयारी गरिरहेकाहरु समेत आयोग खुल्ने टुङगो नलाग्दा अलमलमा परेका छन् । तर आगामी बैशाख मसान्त सम्ममा शिक्षकको बिज्ञापन गर्ने तयारी भइरहेको आयोग श्रोतले बताएको छ। पदाधिकारीबिहीन अवस्थामा रहेको आयोगका पदाधिकारी नियुक्तीको प्रक्रिया अघी बढ्न थालेको र लगत्तै बिज्ञापन हुने बताइएको छ ।

शिक्षा ऐनमा भएको सातौं संशोधनबाट आयोगमा १ अध्यक्ष र २ जना सदस्य गरी ३ सदस्यीय आयोग गठन हुने प्रावधान छ । लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहने तीन सदस्यीय समितिको सिफारिशमा नेपाल सरकारले आयोगका पदाधिकारीहरुको नियुक्ति ५ वर्षका लागि गर्ने व्यवस्था शिक्षा ऐनमा छ ।

यस्तो छ आयोगको संगठनात्मक स्वरुप
शिक्षा ऐन, २०२८ को दफा ११ ‘ङ’ बमोजिम आयोगको एक छुट्टै सचिवालय रहने व्यवस्था छ । सचिवालयको प्रशासकीय प्रमुखको रुपमा काम गर्न राजपत्रांकित प्रथम श्रेणी, शिक्षा सेवा प्रा सहसचिव को दरवन्दी रहने व्यवस्था रहेको छ । शिक्षक सेवा आयोगको सचिवालयअन्तर्गत मुख्यतः एउटा केन्द्रीय कार्यालय ‘शिक्षक सेवा आयोग’ रहेको छ । प्रशासकीय प्रमुख शिक्षा सेवाका सहसचिव को नेतृत्वमा शिक्षा सेवाका ७ जना उपसचिव र १ जना लेखा समूहको गरी जम्मा ८ जना उपसचिव, ८ जना शाखा अधिकृत र अन्य १८ जना गरि कूल ३४ जना कर्मचारीहरुको दरवन्दी रहेको छ ।

आयोगको कार्य व्यवस्थापनका निम्ति ८ ओटा शाखा कायम गरिएको छ । ती शाखाहरुमा १.लिखित परीक्षा सञ्चालन शाखा, २.बढुवा शाखा, ३.अन्तर्वार्ता तथा सिफारिस शाखा ४.तथ्याङ्क, विज्ञापन, पाठ्यक्रम, क्षमता बिकास तथा अनुसन्धान शाखा ५.आर्थिक प्रशासन शाखा ६.प्रश्नपत्र निर्माण तथा परिमार्जन शाखा ७. योजना, प्रशासन तथा अनुगमन शाखा ८.अध्यापन अनुमतिपत्र शाखा छन् ।

शिक्षक सेवाको तयारी कसरी गर्ने ?
प्रतिस्पर्धात्मक परीक्षालाई धेरैले डरलाग्दो, अप्ठ्यारो रूपमा लिने गर्छन्, वास्तवमा त्यस्तो हुँदै होइन। उत्कृष्ट विद्यार्थी अर्थात् विश्वविद्यालय र विद्यालय तहमा धेरै अंक र ग्रेड ल्याउनेले मात्र पास गर्न सक्छ भन्ने मान्यता भ्रमपूर्ण हो। मेहनत, व्यवस्थित तयारी, पाठ्यक्रमको गहन अध्ययनमा आधारित अभ्यास नै सफलताको कारक तत्व बन्छ।

परीक्षा पाठ्यक्रमअनुसारको व्यवस्थित, वस्तुनिष्ठ निरन्तरको तयारी र प्रस्तुतिको प्रतिफलमा सफलता हात पर्ने विषय हो। त्यस्तै, धेरै पुस्तक पढ्न सक्ने अनि घोकेर कण्ठ पारेर सुनाउन सक्नेले मात्र पास गर्ने पनि होइन। यो तपाईंलाई दिइएको विषयवस्तुमा तपाईंको भरपुर ज्ञान र त्यसको प्रश्नानुसारको प्रस्तुतिमा भर पर्ने कुरा हो। त्यसैले, वस्तुगत र विषयगत परीक्षाको तयारीमा ध्यान दिनु जरुरी हुन्छ।

Promise Education Consultancy