गैँडा गणनामा देखिएका तथ्यहरू

पशुपति अधिकारी, चितवन : गत चैत २८ गते चितवनको सौराहामा राष्ट्रिय गैँडा गणना २०७७ को नतिजा सार्वजनिक गरियो । गैँडा पाइने नेपालका चार वटा संरक्षित क्षेत्रहरूमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गरी नेपालमा कुल ७५२ वटा गैँडाको सङ्ख्या रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यस पटकको गणनामा गैँडाको सङ्ख्या १०७ वटा (१६.६ प्रतिशत) अर्थात् वार्षिक २.७७ प्रतिशतले वृद्धि भएको देखिएको छ । यो वृद्धिदर सन् २०१५ को वार्षिक वृद्धिदर ३.४४ प्रतिशतभन्दा कम हो ।

गैँडाको विषयमा गरिएका विभिन्न अध्ययन अनुसन्धानका प्रतिवेदन, मिचाहा वनस्पतिका प्रजाति फैलिदै गएको र घाँसेमैदान, सिमसार क्षेत्र घट्दै गएको र गैँडा संरक्षणमा चोरी शिकार, बाढीजस्ता जोखिम पक्षहरूका सम्बन्धमा चलेका बहसबाट गैँडाको सङ्ख्या घट्न सक्ने अनुमान गरिएको थियो । तर चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नभएर गैँडा स्थानान्तरण गरी दोस्रो र तेस्रो पपुलेसन (सङ्ख्या) कायम गरेका बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा समेत गैँडाको सङ्ख्या बढेको पाइयो । पर्सा राष्ट्रिय निकुञ्जमा भने गैँडाको सङ्ख्या बढेन । यो नतिजाले नेपालले गैँडा संरक्षणमा गरेका प्रयासहरू सफल भएको देखिएको छ । गैँडा गणनाको समयमा गैँडाको जीवविज्ञान, सङ्ख्या, वितरण र बासस्थान बारे देखे, भोगेका केही तथ्य यस्ता छन् ।

जतासुकै माउ बच्चा मात्रै
यसपटकको गणनामा एक वर्षभित्रका बच्चा गैँडा १२५ वटा र चार वर्षभित्रका अर्ध वयस्क गैँडा ९५ वटा भेट्टिएका छन् । यो सङ्ख्या गैँडाको कुल सङ्ख्याको क्रमशः १८ प्रतिशत र १४ प्रतिशत हुन आउँछ । कतिपय माउ गैँडासँग जेठो र कान्छो गरी दुईटा बच्चा सँगसँगै रहेको समेत देखियो । बच्चा तथा अर्ध वयस्क गैँडाको सङ्ख्या धेरै र वयस्क गैँडाहरू पनि मोटाघाटा देखिएको हुँदा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको वासस्थानको गुणस्तर ह्रास हुँदै गएको भन्ने अध्ययन प्रतिवेदनका भनाइहरू भन्दा भिन्न अवस्था देखियो ।

स–साना झुण्डको सङ्ख्या घट्दै
निकुञ्ज वरिपरिका कतिपय स–साना टुक्रे वनहरूमा अहिले गैँडा बस्न छाडेको र कतिपयमा कहिलेकाँही मात्रै आउने जाने गरेको पाइयो । मुख्य बासस्थानबाट केही टाढा रहेका यस्ता स–साना गैँडाका झुण्डले गैँडाको समूहमा वंशाणुगत विविधता कायम राख्न सहयोग पु्याउने गर्छन् । जीवविज्ञानको भाषामा मेटापपुलेसन भनिने यस्ता स–साना झुण्डमा हरूवा र बूढा भाले गैँडासमेत बस्ने गर्छन् । राम्रोसँग वासस्थान व्यवस्थापन गरेका बाघमारा र कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाहेक पूर्वी चितवनका प्रायः सबै सामुदायिक वनहरू, बीसहजारी ताल क्षेत्र तथा कावासोतीको महाराजा सामुदायिक वनमा स्थायी रूपमा गैँडा बस्न छाडेको पाइयो । बढ्दो मानवीय गतिविधि, जतासुकै तारवार र सिमसार क्षेत्र सुक्दै गएकाले स–साना टुक्रे वनहरू गैँडाका लागि अनुपयुक्त बन्दै गएको पाइयो । गैँडाको वासस्थान रहेको नारायणघाटको नगर वनलाई भरतपुर महानगरपालिकाले फोहोर थुपार्ने स्थल (डम्पिङ साइट) को रूपमा प्रयोग गर्दै आएको देखियो ।

वितरणमा सुधार आएन
विगत दुई दशकदेखि निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको घनत्व कम हुँदै गएकोमा यसपटकको गणनामा समेत त्यसमा सुधार भएको पाइएन । निकुञ्जको पश्चिमी क्षेत्रको तुलनामा पूर्वी सौराहा क्षेत्र सुख्खा रहेकाले त्यसको असर गैँडाको वितरणमा परेको छ । विगतको तुलनामा हिउँदे वर्षा कम हुँदै जानु, मध्यवर्ती क्षेत्रमा भूमिगत पानीको दोहन बढ्नु, खगेरी नहरमा पानीको मात्रा घट्दै जानु र निकुञ्जभित्रका रमौली, प्रत्तापपुर र पदमपुरका बस्ती स्थानान्तरण गरेपछि त्यहाँको जमिन बाँझो राख्नाले आहाराको कमी भई गैँडाको घनत्व कम हुँदै गएको देखियो । पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने रमौली प्रतापपुर गाउँ वि.सं. २०६९ मा स्थानान्तरण गरिएको हो । त्यस क्षेत्रमा बस्ती स्थानान्तरण हुनुभन्दा पहिले पनि नियमित रूपमा गैँडा बस्थे । बस्ती स्थानान्तरण गरेपछि गैँडाको सङ्ख्या बढ्ने अपेक्षा थियो तर त्यसो हुन सकेन । स्थलगत निरीक्षणबाट निकुञ्जको पूर्वी क्षेत्रमा हिउँदभन्दा वर्षात्को समयमा बढी गैँडा बस्ने गरेको देखियो । वर्षात्को समाप्तिपछि गैँडाहरू पानी र आहाराको खोजीमा पश्चिमतर्फ बसाइँ सर्ने गरेको पाइयो । जसरी चित्तल र घाँसेमैदानबीच प्रगाढ सम्बन्ध हुन्छ, त्यसैगरी गैँडा र घाँसेमैदानका बीचमा पनि हुन्छ भन्ने आम बुझाइमा त्यति सत्यता रहेको देखिएन ।

निकुञ्जमा घट्दो मानवीय चाप
निकुञ्जभित्र चरिचरन र वन पैदावारको लागि मानवीय चाप घटेको स्थलगत निरीक्षणबाट देखियो । गैँडाको सङ्ख्या बढ्दै जानुमा चोरी शिकार नियन्त्रण र घट्दो मानवीय चाप प्रमुख कारण रहेको पाइयो । विशाल मानवसागरको बीचमा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र मानवीय चाप घट्दै जानुमा मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रमको सफल कार्यान्वयन रहेको छ । यो कार्यक्रम लागू भएसँगै जीविकोपार्जनका लागि निकुञ्जका प्राकृतिक स्रोतमा निर्भर रहने स्थानीय समुदायलाई वैकल्पिक रोजगारीको व्यवस्था गरिएको छ । युवा परिचालन गरी चोरी शिकार नियन्त्रण गरिएको छ र विभिन्न उपायहरू अवलम्बन गरी मानव वन्यजन्तु द्वन्द्वहरू न्यूनीकरण गरिएको छ । पछिल्ला वर्षमा संरक्षण कार्य सहज र द्वन्द्वमुक्त हुँदै गएको छ । यी सबै राम्रा पक्षको सकारात्मक प्रभाव गैँडा संरक्षणमा परेको देखियो ।

उत्खनन र तटबन्धनको असर
विगतमा कालाबन्जराका नामले चिनिने निकुञ्जभित्रको बाँदरझुला टापु क्षेत्र नारायणी नदीका भङ्गालाहरूको बीचमा छ । त्यहाँ पानीले ढाकेको क्षेत्र र जमिनको अनुपात आधाआधाजस्तो छ । तर चितवनको गाँजापुर भन्ने स्थानमा भरतपुर महानगरपालिकाले नारायणी नदीबाट गिट्टी, बालुवा उत्खनन गर्दै आएको हुँदा नदीको सतह होचो भई नदीको धेरै पानी मेघौलीतर्फको भङ्गालोमा गएको छ र बाँदरझुला टापुमा हातका औँलाहरू झैँ फिँजारिएका दर्जनौँ भङ्गालाहरूमा पानी सुक्दै गएको देखियो । यसबाट गैँडाको बासस्थान प्रभावित हुने देखिन्छ । अर्कोतर्फ, नदी नियन्त्रणका लागि बनाइएका तटबन्धन र नदी किनारमा खुलेका होटलहरू पनि वन्यजन्तुमैत्री देखिएनन् । तटबन्धनका कारण नदीको पानी एकत्रित भई तीव्र गतिमा बग्ने र बाढीको समयमा बगेका गैँडा तटबन्धन र होटल भएका ठाउँमा अडिन नमिल्ने भएकाले विगत केही वर्षदेखि गैँडा बगेर भारत पुग्ने घटनामा वृद्धि भएको छ ।

माइकेनिया झारको असर
माइकेनिया नामको लहरे झारले घाँसे मैदान ढाकेर गैँडालाई चरनको अभाव भयो भन्ने टीकाटिप्पणीमा त्यति सत्यता रहेको पाइएन । माटोमा चिसोपना बढी भएका घाँसेमैदानहरूमा माइकेनिया झार फैलिएको भए पनि यो त्यति जटिल समस्याको रूपमा रहेको देखिएन ।

आन्तरिक स्थानान्तरणको सबाल
चितवनमा गैँडाको सङ्ख्या बढ्दै गए पनि सौराहा घुम्न आउने पर्यटकले गैँडा देख्न पाउने अवसर भने बर्सेनि कम हुँदै गएको छ । विगतमा गैँडा स्थानान्तरण गर्दा निकुञ्जको सौराहा क्षेत्रबाट धेरै लगिएको हुँदा पूर्वी क्षेत्रमा गैँडाको घनत्व कम हुँदै गएको भन्ने पर्यटक व्यवसायीको तर्क छ र अब पुनः निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वतर्फ गैँडाको आन्तरिक स्थानान्तरण गर्नुपर्ने उनीहरूको माग छ । गैँडाको बसाइँसराइ, वितरण र घनत्वमा सबैभन्दा बढी प्रभाव बासस्थानको गुणस्तरले पार्ने गर्छ । बासस्थानका चार प्रमुख अवयवहरू पानी, खानेकुरा, लुक्ने, बस्ने, भाग्ने आश्रयस्थल र बासस्थानको क्षेत्रफल हुन् । सौराहा क्षेत्रमा घाँसेमैदानको क्षेत्रफल बढी भए पनि पर्याप्त सिमसार क्षेत्र र हिउँदमा कात्तिकदेखि माघसम्म खानेकुराको अभाव भएको देखिएको छ ।
गैँडाको बासस्थान व्यवस्थापन गर्दा त्यसको बानी व्यहोरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । गैँडा मानिसको सम्पर्कमा बस्न रुचाउने र बालिनाली चोरेर खाने वन्यजन्तु हो । निकुञ्जभित्रका रमौली, प्रत्तापपुर र पदमपुर बस्ती स्थानान्तरण गरेपछि गैँडाको स्वभाव अनुसारको वासस्थान मिलेन । आहारामा कमी आयो । हामीले अहिलेसम्म मानव वन्यजन्तु द्वन्द्वलाई मात्रै ध्यान दियौँ र जतासुकै तारवार लगायौँ, बस्ती स्थानान्तरण ग¥यौँ, जमिन बाँझो राख्यौँ । मानवीय स्वार्थ मात्रै हेर्दा मानव वन्यजन्तु सम्बन्धलाई बेवास्ता ग¥यौँ ।

जीवशास्त्रीहरूको भनाइअनुसार गैँडा पाँच करोड वर्ष पहिले उत्पत्ति भएको जीव हो र लगभग डाइनोसारको समकालीन दौँतरी हो । आफ्ना दौँतरीहरू लोप भइसक्दा पनि गैँडा लोप हुनबाट जोगिएको छ । यसको एउटै कारण उच्च प्रजनन् क्षमता र सन्तानलाई असाध्यै हिफाजत गर्ने बानी भएकाले हो । चोरी शिकार नियन्त्रण र निकुञ्जभित्र रहेको गैँडाको बासस्थानलाई अहिलेकै स्थितिमा राख्न सके गैँडा संरक्षणमा तत्कालै ठूलो चुनौती देखिएन । गैँडाको बासस्थान व्यवस्थापन गर्दा घाँसेमैदान भन्दा पनि सिमसार क्षेत्रको संरक्षणमा बढी ध्यान दिनुपर्ने देखियो । निकुञ्ज बाहिरको क्षेत्रमा सञ्चालन गरिएका नदी उत्खनन्जस्ता गतिविधिले समेत प्रभाव पारेको देखिएकाले स्थानीय तहसँग समन्वय गर्ने संयन्त्रको निर्माण गर्न जरुरी देखिन्छ ।

(लेखक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत हुनुहुन्छ ।)

Promise Education Consultancy