‘ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमायाे’

काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा सम्मान दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसदको सामना गर्न नसकेकाले हठातमा अधिवेशन अन्त्य गरेको बताउनुभएको हो ।

मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नुभएको छ । नेता सिंहले असंवैधानिक रुपमा संसद विघटन गर्नुभएका प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक हैसियत गुमाएको र संसदलाई सामना गर्न नसकेको बताउनुभयो । संसदलाई स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको पनि उहाँले बताउनुभयो ।

राजनीतिक, संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाई कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पनि नेता सिंहले बताउनुभयो । चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्न म्याण्डेट प्राप्त भएपनि कम्युुनिष्ट सरकारले हैसियत गुमाएको अवस्थामा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले पारदर्शी चुनाव गराउनका लागि पनि कांग्रेस नेतृत्वको सरकार चाहिने बताउनुभयो ।

सरकारले कोरोना फैलिन सक्ने भन्दै नागरिक र अन्य राजनीतिक दलहरुलाई भेला हुन नदिने तर सरकार र सत्ताधारी दल आफैले ठाउँठाउँमा सभा र भेला गर्दै हिँडेको पनि बताउनुभयो । ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो ।

Promise Education Consultancy