जुरेलीको पछुतो

विनय कसजू : जुरेली चरी मीठो गीत गाउन नामी थिई । ऊ मेहनती पनि थिई । ऊ दिनभरि खेतबारीमा डुल्थी र बालीनालीलाई नोक्सान पुर्याउने किरा फट्यांग्राहरू खान्थी । किसानले खेत बारी जोतेको बेलामा जुरेली किसानको पछिपछि उडिरहन्थी र माटोबाट निस्केका किरा खान्थी । यसैले किसानहरू जुरेलीलाई माया गर्थे ।

एक दिन एक जना किसानको छोरा राजुले खेतबाट निस्केका किराफट्यांग्रा एउटा बट्टामा बटुल्यो । उसले बट्टाभरिको किरा जुरेलीलाई दिँदै जुरेलीसँग एउटा प्वाँख माग्यो । बट्टाभरि किरा देखेर जुरेली दंग परी । मेहनत नगरीकन यति धेरै किरा खान पाएकोले उसले खुशीसँग आफ्नो एउटा प्वाँख झिकेर राजुलाई दिई ।

भोलि पल्ट पनि राजुले बारीबाट किरा बटुल्यो र जुरेलीलाई बट्टाभरि किरा खान दियो र अर्को प्वाँख लियो । यसरी राजुले दिनदिनै किरा बटुलेर जुरेलीलाई दिन थाल्यो र जुरेलीले पनि आफ्नो प्वाँख राजुलाई दिनथाली ।

मेहनत नगरीकन किरा खान पाएपछि जुरेलीले बारीमा उडन र किरा बटुल्न छाडी । ऊ बिस्तारै अल्छी हुँदै गई । किरा खान बारीमा नआएपछि किसानहरूले पनि जुरेलीलाई माया गर्न छाडे । दिनदिनै राजुलाई प्वाँख दिन थालेकोले उसको प्वाँख पनि सकिँदै गयो । उसले पखेटाको प्वाँख पनि दिई । त्यसपछि ऊ राम्ररी उडन पनि सकिन ।

जाडो याम आयो । राजुले किरा बटुलेर ल्याउन पनि छाड्यो । जुरेलीको पखेटामा थोरै मात्र प्वाँख बाकी रहेकोले ऊ बेगले हावामा उडेर किरा समात्न पनि नसक्ने भई । बिस्तारै ऊ कमजोर हुँदै गई । उसको जिउमा उसलाई न्यानो दिन चाहिनेजति प्वाँख पनि बाकी थिएन । उसलाई जाडो लाग्यो । ऊ बिरामी परी । मेहनत नगरी सजिलोसँग बाँच्न खोजेकोमा पछुताउँदै ऊ मरी ।

Promise Education Consultancy