आइपीएलमा बैंगलोरको लगातार दोस्रो जित

काठमाडौँ : रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलमा लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो ।

एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जिताउन सकेनन् । बैंगलोरका शाहबाज अहमेदले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान बिराट कोहलीले ३३ रन जोडे । हैदरावादका जासन होल्डरले ३ विकेट लिए । राहिद खानले २ तथा भुवनेश्वर कुमार,शाहबाज निदम र टी- नटराजनले एक एक विकेट लिए । जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले २ खेलमा ४ अंक जोडेको छ ।

Promise Education Consultancy