जनजागृतीले जित्यो राष्ट्रपति रनिङशिल्डको उपाधि

चितवन : रत्ननगर नगरपालिकाले टिकौलीचौरमा आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङशिल्डको उपाधि जनजागृत मावि पिठुवाले जितेको छ । प्रतिस्पर्धी ३० वटा विद्यालयलाई पछिपार्दै जनजागृतीले लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको छ । प्रतियोगितामा जनजागृतीले ११ स्वर्ण,८ रजत र ५ कस्य गरी २४ पदक जितेर उपाधि कब्जा गरेको हो ।

प्रतियोगितामा ६ स्वर्ण,५ रजत र ८ कास्य गरी १९ वटा पदम जितेर स्काइराइडर आवासीय मावि दोस्रो,५ स्वर्ण,३ रजत र ५ कस्य गरी १३ पदक जितेर प्यारागन आवासीय मावि तेस्रो भएको नगर खेलकुद विकास समितिका संयोजक केशव आचार्यले जानकारी दिए । प्रतियोगितामा कवडी तर्फ बछौली माविका दीपक कुमार श्रेष्ठ र सोही विद्यालयकी स्नेहा परियार तथा भलिबल तर्फ बछौली माविकै निश्चल पाण्डे र जनजागृती माविका सृजना परियार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

टिकौली चौरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी,मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले विजयी खेलाडी तथा विद्यालयहरुलाई शिल्ड मेडल र पुरस्कार हस्तान्तरण गरेका थिए । समापन कार्यक्रम कार्यपालिका सदस्य राजेन्द्र हमालले सञ्चालन गरेका थिए ।

Promise Education Consultancy