अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

काबुल : अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ ।
स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरुले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा भएका घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको विवरण हामीलाई प्राप्त भएको छ, एक सुरक्षा अधिकारीहरुले भने ।
घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालिवान लडाकूहरु रहेको पनि सरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।
घटनामा परेका मध्ये ५१ जना तालिवान लडाकूहरु र सात जना सुरक्षाकर्मीहरु घाइते पनि भएको जनाइएको छ ।
अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ । अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाई गरिरहेको छ ।
अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ । सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो ।
अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ । थप घटाउने की बढाउने भन्ने बारेमा जो बाइडेन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ । अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानी फौजलाई सल्लाह र सहायता दिँदै आएका छन् । पछिल्ला वर्षहरुमा सुरक्षाका गम्भीर घटनाहरुमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ ।     (रासस÷सिन्ह्वा)

Promise Education Consultancy