मञ्‍चमै शेरबहादुर-रामचन्द्र भनाभन, कार्यकर्ताबीच हाँसो

काठमाडौँ  : निजामती कर्मचारी युनियन संघको शुक्रबार काठमाडौंमा गरिएको विधान अधिवेशन उद्घाटनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउने कुरामा देउवाले अग्रसरता नलिएको भन्दै पौडेलले आक्रोश पोखेका थिए।

मञ्चमा भाषण सकेर झरेपछि पौडेलले देउवाको मुखमै औँला लैजाँदै वादविवाद गरे। देउवा पनि पौडेलले आफूलाई इंगित गर्दै ओलीसँग मिलेको आरोप लगाएपछि आक्रोशित थिए। उनले मञ्चमा पुगेर पौडेलले बोलेपछि आफू पनि बोल्न बाध्य भएको बताए।

दुई नेताबीच भनाभन चल्दा कार्यकर्तामा हल्लीखल्ली भएको थियो। मञ्चबाट भाषण सकेर आएपछि देउवासँग उभिएरै भनाभनमा उत्रिएका पौडेल बसेर पनि विवाद गरिरहे। मञ्चमा आफ्नो सिटसँगै बसेका विमलेन्द्र निधिसँग कुरा गर्न थालिरहेका पौडेलसँग उनको कुरालाई लिएर देउवाले प्रतिवाद गरिरहे। त्यसपछि पनि पौडेल-देउवा भनाभन चलिरह्यो।

त्यसबीचमा निजामती कर्मचारी र कार्यकर्ताबीच हाँसोसहित होहल्ला भएपछि उद्घोषकले त्यसलाई विवादका रुपमा भन्दा छलफलका रुपमा बुझिदिन भने। त्यसपछि देउवा मञ्चबाट उठेर भाषण गर्न ड्यासमा पुगे। उनले पौडेलजीले बोलेकाले आफूले जवाफ दिन बाध्य भएको भन्दै भाषण गर्न थाले।

जवाफमा देउवाले कांग्रेसलाई भोटै नहालेर जनताले सानो पार्टी बनाइदिएकाले चुनावमा जाऊँ भनेको बताए। उनले दुइटा पार्टी मिले जनताले भोट हालेकाले आफूहरुले केही गर्न नसकेको बताए। जनताले कांग्रेसलाई हराएकाले अब जनताकै घर दैलोमा जाऊँ भनेको पनि सुनाए। देउवाले ओलीलाई हटाउन तयार भएको बताउँदै यदि नसकिएमा चुनावबाहेक अर्को बाटो हुन नसक्ने उल्लेख गरे।

पौडेलले के भने ?

पहिले बोलेका पौडेलले देउवाले ओलीको प्रतिगामी कदममा साथ दिएर ताजा जनादेशको रटान लगाएको गुनासो गरे। पौडेलले कांग्रेसले माओवादी र एमाले मिल्न दिएर एउटा चान्स मिस गरेकै बताउँदै अर्को चान्स मिस गर्दा रुनु न हाँस्नु हुने तर्क गरे।

प्रचण्डप्रति देउवाको व्यंग्य : प्रधानमन्त्री बन्‍नुभन्दा मानेनन्, ओलीले लात हानेपछि ठीक भाछ
‘एमाले र माओवादी केन्द्र मिल्ने बेलामा हामी रमिते बन्यौँ। फेरि पनि जोखाना हेरेर चान्स मिस गर्ने हो भने पछि टाउको समातेर बस्ने अवस्था आउँछ’, उनले भने, ‘चुनाव चुनाव चुनाव नभनौँ केपी ओलीले पनि त चुनाव भनेका छन्। तर उनको प्रतिगामी कदमलाई आँखा चिम्लेर समर्थन जनाएर अघि बढ्न सकिन्न।’

Promise Education Consultancy