आईपीओ बाहेकका शेयरबारे जान्नैपर्ने ‘तत्व’हरु

भन्दा छ तर गन्दा सात भनेजस्तै झट्ट सुन्दा शेयरलाई एउटामात्र शब्दको रुपमा सुनिए तापनि यसका लुकेका रुपहरु धेरै रहेका छन् । शेयर बजारप्रतिको बढ्दो आक्रामक चासोसँगै बजारमा प्रवेश गर्ने धेरै साथीहरु नयाँ भएकाले प्रायःलाई साधारण शेयर (आइपीओ) को मात्र ज्ञान हुनसक्छ । अथवा अरुबारे ज्ञान भएपनि त्यसबाट प्राप्त गर्न सकिने फाईदा लिन सकिनरहनु भएको हुनसक्छ । यस भागमा हामी शेयरका विभिन्न रुपहरु जस्तैः एफपिओ, बोनस शेयर, हकप्रद शेयरको बारेमा विस्तृतमा छलफल गर्छौँ । शेयरबारे अन्य ज्ञानहरुको लागि यसै लेखको अन्त्यमा विभिन्न लिङ्कहरु उपलब्ध हुनेछन् ।

एफपिओ भनेको के हो ?

सामान्यतया पहिलो पटक साधारण शेयर (आइपिओ) जारी गरिसकेको कुनैपनि पब्लिक कम्पनीले पुँजी संकलनको लागि सर्वसाधारणलाई पुनः शेयर निष्काशन गर्दछ भने त्यसलाई नै एफपिओ अर्थात् फर्दर पब्लिक अफरिङ्ग भनिन्छ । सामान्यतया पहिलोपटक पब्लिक कम्पनीले साधारण शेयरलाई अंकित मूल्य, अर्थात १०० रुपैयाँमा निष्काशन गर्दछ भने एफपिओ जारी गर्दा कम्पनिले शेयरलाई प्रिमियम मूल्यमा निष्काशन गर्दछ । प्रिमियम मूल्य भन्नाले अंकित मूल्यमा केहि प्रिमियम थपिनु हो । जस्तै अंकित मूल्य रु १०० मा रु २०० प्रिमियम थपेर जम्मा रु ३०० प्रतिकित्ताका दरले शेयर निष्काशन गरिनु ।

प्रिमियम मूल्यको उदाहरणको रुपमा शिभम् सिमेन्टले साधारण शेयर जारी गर्दा तोकेको मूल्य रु ३०० लाई लिन सकिन्छ । कम्पनीको अवस्था हेरेर नियमक निकायले अनुमति दिएमा एफपिओलगाएत आइपिओमा पनि पव्लिक कम्पनीले प्रिमियममा शेयर निष्काशन गर्न पाउँदछन् । तर, एफपिओ जारी गर्नको लागि कुनै पनि पव्लिक कम्पनीले लगातार तीन बर्षसम्म नाफा कमाएको हुनुपर्दछ ।

कुनैपनि कम्पनीले जारी गरेको एफपिओमा आवेदन आइपिओमा जसरी नै दिन सकिन्छ । त्यसैगरी एफपिओ जारी भएको कुरा नेप्से, मेरो लगानी, नेपाली पैसा जस्ता वेभसाइटबाट र मेरो शेयरको एपबाट पनि थाहा पाउन सकिन्छ । जुनसुकै पब्लिक कम्पनीले आइपिओ जसरी नै एफपिओ पनि ४ देखि १५ दिनसम्मका लागि जारी गर्दछन् ।

बोनस शेयर भनेको के हो ?

कुनैपनि पव्लिक कम्पनीले मुनाफा कमाए पश्चात् आफ्ना शेयर होल्डरहरुलाई उक्त मुनाफामा संलग्न गराउँदा पैसाको रुपमा नभई शेयर नै बितरण गर्दछ भने उक्त शेयरलाई बोनस शेयर भनिन्छ । कम्पनीले बोनस शेयर वितरण गर्दा कमाएको मुनाफाको वितरण योग्य भाग वा जगेडा कोषबाट वितरण गर्दछ । बोनस शेयरले कम्पनीको मुनाफा वा जगेडा कोषलाई कम्पनीमै पुँजीकरण गर्ने भएकाले प्राय कम्पनीहरुले लाभांशभन्दा पनि बोनस शेयरमा बढि जोड दिन्छन् । बोनस शेयर प्रतिशतको आधारमा वितरण गरिन्छ ।

जस्तै कुनै कम्पनीले ५० प्रतिशत बोनस शेयर दिने भए, यदि कुनै व्यक्तिसँग १०० कित्ता शेयर छ भने उसले त्यो १०० कित्ताको ५० प्रतिशत अर्थात ५० कित्ता शेयर बोनस बापत प्राप्त गर्दछ र उसको जम्मा शेयर संख्या १५० कित्ता पुग्छ । बोनस शेयरपश्चात कम्पनीको शेयर मूल्य भने समायोजन हुन्छ ।

बोनस शेयरपश्चात् कहिले र कसरी शेयरको मूल्य समायोजन हुन्छ ?

कम्पनीले साधारण सभामा बोनस शेयरको लागि बुक क्लोजरको मिती तोक्दछ । कम्पनीले तोकेको उक्त बुक क्लोजरको मितिसम्म भइराख्ने शेयरधनीले मात्र बोनस शेयर प्राप्त गर्दछन् । यदि कसैले बुक क्लोजरको दिनमा वा त्यसभन्दा पछि उक्त कम्पनीको शेयर खरिद गर्छ भने उसले बोनस शेयर प्राप्त गर्न सक्दैन । जुनसुकै कम्पनीको बोनस शेयरको मूल्य समायोजन बुक क्लोजरको अघिल्लो दिन बेलुका नै हुन्छ तर उक्त नयाँ मूल्य भने बुक क्लोजरको दिनबाट लागु हुन्छ ।

मानौँ, कुनै कम्पनीको बुक क्लोजरको अघिल्लो दिन प्रतिशेयर मूल्य रु २००० छ । कम्पनीले ५० प्रतिशत बोनस दिँदैछ भने बुक क्लोजरको दिन उक्त कम्पनीको प्रतिशेयर मूल्य रु  १३३३.३३ हुन्छ । यहाँ शेयर संख्या बढेको छ भने शेयर मूल्य घटेको छ तर कुल लगानी भने बराबर नै रहेको छ । बोनस शेयरको मूल्य समायोजन गर्दा सुरुको प्रतिशेयर मूल्यलाई बोनस प्राप्त पश्चातको जम्मा शेयर संख्याले भाग गरी १०० ले गुणन गर्नुपर्दछ । जस्तैः (२०००÷१५०)×१००, यहाँ जम्मा शेयर संख्या १५० लाई (१००+५०) गर्न पनि सकिन्छ । जसको अर्थ सुरुको शेयर संख्या सँग बोनस पाएको शेयर संख्या जोड्नु हुन्छ ।

हकप्रद शेयर भनेको के हो ?

कुनैपनि कम्पनीले पूँजी वृद्धि गर्न आफ्ना विद्यमान शेयरधनीले मात्र खरिद गर्न सक्ने गरी निष्काशन गर्ने शेयर नै हकप्रद शेयर हो । जुन हकप्रद शेयर खरिद गर्न लगानीकर्ताले कम्पनीले तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ । हकप्रद शेयर कम्पनीको चुक्ता पूँजीको अनुपात वा प्रतिशतमा जारी गरिएको हुन्छ ।

उदाहरणका लागि कुनै एउटा कम्पनीको चुक्ता पूँजी दुई अर्ब छ र उक्त कम्पनीले उक्त चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्छ भने त्यसलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन भन्ने बुझिन्छ । अर्थात्, कुनै कम्पनीको एक सय कित्ता शेयर हुनेले उक्त कम्पनीबाट थप एक सय कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन् । कम्पनीले जारी गर्ने हकप्रद शेयर उक्त कम्पनीको बजार मूल्यभन्दा कम मूल्यमा विक्री गरिन्छ । साधारणतया कम्पनीहरुले एक सय रुपैयाँको दरमा हकप्रद शेयर निष्काशन गर्छन् ।

कसरी हुन्छ हकप्रद शेयरको मूल्य समायोजन ?

कुनैपनि कम्पनीले अंकित मूल्यमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दछ भने यहाँ कम्पनीको बजार मूल्य प्रतिकित्ता १००० रुपैयाँ हुँदा हकप्रद शेयरपछि सो कम्पनीको समायोजित मूल्य ५५० रुपैयाँ हुन आउँछ । त्यसैगरी ५० प्रतिशत हकप्रद शेयर अंकित मूल्यमा निष्काशन गर्दा, कम्पनीको बजार मूल्य प्रतिकित्ता १००० रुपैयाँ छ भने, हकप्रद शेयर पछिको मूल्य ७३३.३३ रुपैयाँ हुन आउँछ ।

हकप्रद शेयरको मूल्य समायोजनलाई यसरी सुत्रगत देखाउन सकिन्छ ।

अंकित मूल्यमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दा, (१०००+१००)÷(१+१)

अंकित मूल्यमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दा, (१०००+१००)÷(१+०.५)

यहाँ, शेयरको बजार मूल्य १०००, हकप्रद शेयर बिक्री हुने अंकित मूल्य १०० (प्रिमियममा बिक्री भएमा त्यहि मूल्य राख्ने), १०० प्रतिशत हकप्रद निष्काशन हुँदा (१+१), ५० प्रतिशत हकप्रद निष्काशन हुँदा (१+१)

यसरी बोनस शेयर र हकप्रद शेयरको मूल्य समायोजन हुन्छ ।

Promise Education Consultancy