जन्ती बोकेको माइक्रो दुर्घटना, १२ जना घाइते

राजविराज : जन्ती बोकेको माइक्रोबस सप्तरीको बोदे बर्साइन नगरपालिकामा मंगलबार बिहान दुर्घटना हुँदा चालकसहित १२ जन्ती घाइते छन् ।

तीव्र गतिका कारण अनियन्त्रित भई विङ्गर गाडी पल्टिएर दुर्घटना भएको हो । बोदेबर्साइन नगरपालिका वार्ड नम्बर ८ काचनबाट जन्ती बोकेर गएको विङ्गर बिसनुपुर गाउँपालिका वार्ड नम्बर १ मधेपुराबाट घर फर्किने क्रममा बिसनपुर–बर्साइन सडक खण्डको सगरमाथा डेरी नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासमानले जानकारी दिए ।

ना १ ज ८९३८ नम्बर विङ्गर दुर्घटनामा परेर घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेमा बोदे बर्साइन नगरपालिका– ८ काचनका वर्ष ४५ को बच्चालाल दास र बर्ष २९ को देवनारायण दास छन् । उनीहरूको रुपनी गाउँपालिका १ स्थित युनिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बताइएको छ ।

त्यस्तै, सोही दुर्घटनाका घाइतेहरू अन्दाजी २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५वर्षीय शिवकुमार दासको उपचार एडभान्स क्लिनिक कल्याणपुर र २२ वर्षीय शंकर साह, २५ वर्षीय विजयकुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरीको उपचार छिन्नमस्ता हस्पिटल राजविराजमा, ३० वर्षीय जयप्रकास साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दीपककुमार यादव, १८ वर्षीय कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादवको उपचार स्थानीय लाइफ केयर पोलि क्लिनिकमा उपचार भइरहेको प्रहरीले बताइएको छ ।

घाइते अधिकांशको हातखुट्टा, टाउँको, छातीलगायत शरीरको विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रमुख अरुण सिंहले जानकारी दिए ।

Promise Education Consultancy