बाँदरलाई मकैबारीको गोठालो बनाएपछिकाे नतिजा

भारी धन्यवाद छ मिस्टर खड्गप्रसाद शर्मा ओलीलाई । निस्तेज दासहरूको भीडतुल्य नेकपा डब्बलका दुई अराजक साँढे ओली र दाहालको निकृष्ट सत्तास्वार्थको दुष्चक्रमा इतिहासको गति अड्किएको थियो । लघु आकारको हिटलरको औतार धारण गरी मान्यवर खड्गप्रसाद शर्मा ओलीले यो दुष्चक्र झ्याप्प तोडिदिए । राजनीतिक अगतिमा अब स्वभावतः गति पैदा हुने भो ।

इतिहासमा जहाँ गति हुन्छ, त्यहाँ द्वन्द्व हुन्छ । जहाँ द्वन्द्व हुन्छ, त्यहाँ झिल्का निस्कन्छन् । द्वन्द्व तीव्र हुँदै जाँदा झिल्काहरूको मुस्लो मसालमा परिणत हुन्छ र इतिहासको अन्धकार सुरुङको पल्लो छेउमा निकासदर्शी प्रकाश दृष्टिगोचर हुन्छ । मेरो पुनः भारी धन्यवाद छ, लघु आकारका रैथाने हिटलर श्रीमान् खड्गप्रसाद शर्मा ओलीलाई ।

राजनीतिका प्याजका पत्रसरी जेलिएका जटिलताहरू म बुझ्दिनँ । तथापि ओली प्रवृत्तिलाई मैले बुझेको अहिले होइन, धेरै पहिले हो । ओलीको अघिल्लो शासनकालमै मैले भनेथेँ- बाँदरलाई मकैबारीको गोठालो बनाए नतिजा के हुन्छ ? लोकअनुभवमा उत्तर सरल छ- यो विनाशकारी गोठालाले मकै सखाप पार्छ ।

ओलीको पछिल्लो कार्यकालमा मैले पटक–पटक यो कथन दोहोर्‍याइरहेँ । संस्थागत गर्नु छ गणतन्त्र र धर्मनिरपेक्षतालाई, सत्ताको कार्यकारी लगाम पर्‍यो गणतन्त्र र धर्मनिरपेक्षताका उग्र शत्रु ओलीका हातमा । संस्थागत गर्नु छ संघीयता र समावेशितालाई, सत्ताको बागडोर गयो संघीयता र समावेशिताका जघन्य बैरी ओलीका हातमा । नतिजा के भयो ? बाँदरद्वारा बारीका सारा मकै सखाप भए ! अर्थात् रैथाने ठुटे हिटलरका दुष्कर्मद्वारा गणतन्त्र, धर्मनिरपेक्षता एवं संघीयता र समावेशिता सबै शैशवकालमै धरापमा पारिए ।

यो धरापकारी कर्ता सत्ताको गद्दामा नागरिक प्रतिनिधि हो कि नवजात छोटे राजा ? मलाई भन्न गाह्रो छ । तर हक्की रमेश पराजुली ट्वीटमा प्वाक्क भन्छन्- ‘सोचका दृष्टिले ओली महेन्द्र र ज्ञानेन्द्रभन्दा कहिल्यै पृथक् थिएनन् । फरक के हो भने यिनी ‘जननिर्वाचित’ भइदिए ।’

उता डा. देवेन्द्रराज पाण्डे सतहमा शालीन तर अन्तर्यमा रुष्ट मुद्रामा आफ्नो ट्वीटमा उद्घोष गर्छन्- ‘जनआन्दोलनमा कुनै भूमिका नभएका, भए विपरीत भूमिका निर्वाह गरेकालाई टिपेर लोकतान्त्रिक शासनको अभिभारा सुम्पेपछिको स्वाभाविक परिणाम हेर्ने हो, भोग्ने हो ।’ यो विषादयुक्त कथनको तात्पर्य हो- गोठालो राखिएको छट्टु बाँदरले जनजनको श्रमबाट सिर्जित सारा मकै सर्वनाश गर्‍यो । अब दुष्परिणाम टुलुटुलु हेर्न र भोग्न निष्पाप लोक अभिशप्त छ ।

हदै क्षुद्र र दुष्ट, अतिशय असहिष्णुु र प्रतिशोधी एवं चरम शक्तिपिपासु र दम्भी ओली प्रवृत्ति हठात् पैदा भई रातारात छिप्पिएको किमार्थ होइन । यो प्रवृत्तिको विकासका चर्मचक्षुले देखिने र सहजै बुझिने चरणहरू छन् । ओली महोदय महाकाली सन्धिका नम्बर एक राष्ट्रघाती वीर हुन् । सुविदित बयलगाडाका स्रष्टा एवं सारथि पनि ओली नै हुन् । जाली फास्ट ट्रयाकको बाटो गरी आफ्नै देशका नागरिकको रगतले विभेदकारी संविधान लेख्ने नम्बर एक नायक पनि ओली नै हुन् ।

अन्तरिम संविधानमा अङ्कित जनअधिकारहरूलाई क्षत्‌विक्षत् तुल्याउने महान् पौरखी पनि ओली नै हुन् । सिमानाको चुच्चे नक्सा बनाएर हाई-हाई हुँदै निज चुच्चेलाई सिरानी हालेर बाई–बाई गर्ने शिखर राष्ट्रवादी पनि ओली नै हुन् । आफैँ राज्य, आफैँ सरकार, आफैँ व्यवस्था, आफैँ दल, आफैँ विधि र आफैँ नीति भएर निरङ्कुश राजाले झैँ मनपरी गर्दै कीर्तिमानी शासन चलाउने पनि ओली नै हुन् ।

चरम् शक्तिपिपासाका कारण राज्यका यावत् बलशाली संस्थाहरूको लगाम आफ्नै हातमा लिने, राज्य कोषको अकुत थैलो आफ्ना पाइलामुनि थुपार्ने र शक्ति र स्राेतको चरम दुरुपयोग गर्दै भयावह कुशासन चलाउने अप्रतिमकर्ता पनि ओली नै हुन् । भ्रष्टाचारलाई शून्य सहिष्णुताको मन्त्र जप्दै आफ्ना आसेपासे र तमासेहरूद्वारा सम्पन्न भ्रष्टाचारको हाकाहाकी प्रतिरक्षा गर्ने कृपाकारी ख्वामित पनि ओली नै हुन् । ओली सरका यस्ता अनुपम पराक्रम र पौरखहरूको सूची कतिकति लामो छ !

ओली महोदय जे र जस्ता भए ती एक्लै त्यस्ता भएका होइनन् । तिनलाई त्यस्ता बनाउनेहरूको हुलै छ । छटेल ओलीका बतासे विकासका उट्पट्याङ उद्घोषहरूको महिमा मण्डन गर्दै ‘सपना देख्न पाइन्न र ?’ भन्ने भक्तगणमा शङ्कर पोखरेल र प्रदीप ज्ञवाली मात्र थिएनन्, त्यो गुलामगणमा नागरिक समाजका ‘इलिटहरू’ पनि थिए ।पत्रकार समाजका पिपलपाते पत्रकारहरू पनि थिए । कानुनी समाजका रकमी जालीफटाहाहरू पनि थिए । बुद्धिजीवी समाजका विवेक विक्रयकारी बुद्धिजीवीहरू पनि थिए, र साहित्य समाजका चाकरीबाजहरू पनि थिए । यो ‘थिएहरू’को सूचीलाई पनि कतिकति लम्ब्याउन सकिन्छ ।

 

 

चुट्कीको भरमा चटके विकास गरी जनजनलाई सुख वितरण गर्ने औतारी ओलीलाई ‘स्वप्नद्रष्टा’, ‘युग पुरुष’, ‘इतिहास पुरुष’, ‘सर्वज्ञानी विद्वान्,’ ‘आशु कवि’ आदि/इत्यादि उपाधि प्रदान गरी फुर्क्याएर शिरमा बोक्ने पवनपुत्रहरू यी सबै समाजमा छ्यास्छ्यास्ती नभएका होइनन् । अहिले ओली महोदयले रैथाने छोटी हिटलरको औतारमा खण्डे संविधानमाथि छुरी धस्दा, छँदाखाँदाको संसद्‌को बध गर्दा, जनआकांक्षालाई निर्ममतासाथ कुल्चिँदा र संवैधानिक निकायहरूलाई आफ्ना कपटकारी हातका मैनका पुतली बनाउँदा यी पवनपुत्रहरू कहाँ के हेरी बसेका हुनन् ? यी र यस्तैहरूलाई सङ्केत गर्दै ट्वीटमा श्री क्रषिकेश कटाक्ष गर्छन्, ‘ओलीको राजीनामा माग्नु हुन्न भन्ने शहरका नामुद इलिटहरूको क्लबले केही बोल्यो कि थाहा नपाएको अभिनय गरिरहेछ ?’

ओलीका आदर्श र मूल्यको परित्याग, स्वेच्छाचार र अहंकारको प्रदर्शन, शक्ति र साधनको दुरुपयोग, जनतालाई दिएको आश्वासनप्रतिको विश्वासघात, गरेका वाचाहरूको बेवास्ता आदि दुष्प्रवृत्तिका जरामा मलजल हाल्ने ओली एकल पात्र होइनन् । ओलीका यी दुष्प्रवृत्तिहरू फस्टाएर गोमन सर्पले झैँ विषालु फँणा फिँजाउनुमा बडेबडे हस्तीहरूको यथेष्ट योगदान छ ।

अरु त अरु, मोहनविक्रम सिंह र उपेन्द्र यादव प्रवृत्ति पनि यस मामिलामा कोहीभन्दा कम छैनन् । अस्ति मात्रको कुरा हो, ओलीको राजीनामा माग्नु लोकतन्त्रलाई कमजोर बनाउनु हो भनी मोहनविक्रम सिंह रुँदै थिए । ओलीले चित्रबहादुर केसीलाई कमल थापापछिका छैटौँ उपप्रधानमन्त्री र आफ्नी पत्नीलाई सांसद बनाइदिएको महान् गुन गुणग्राही मोहनविक्रम यति छिट्टै किन बिर्सन्थे र ?

ओली प्रवृत्तिको उन्मादको बढोत्तरीमा उपेन्द्र यादवको योगदान पनि लर्तरो छैन । संविधान संशोधन गरी आफ्नो बहिष्कृत समुदायका हक लेखाउन भनी उपेन्द्र यादव ओलीमातहत मन्त्रीको मालामाल जागिर खान सरकारमा भित्रिए । सुस्वादु जागिरको मादकताले उनी यति लट्ठिए कि उनले संशोधनको कुरै बिर्से । विस्मरणप्रेमी उपेन्द्र महोदयले यसरी ओलीतन्त्रको अनुदारता र सर्वसत्ताको गौरव एवं शोभा ह्वात्तै बढाइदिए ।

वास्तवमा खड्गप्रसाद शर्मा ओलीका चरणमा लम्पसार परी नित्य चाकरी र चाप्लुसीको माध्यमले निजलाई असनको हिजोको साँढेझैँ मैमत्त बनाउने कार्यमा जसको सर्वोच्च योगदान हो, त्यसको चर्चा गर्न त बाँकी नै छ । सरिता तिवारीको ट्वीटको भाषामा भन्ने हो भने- ‘ओलीलाई ह्याँसम्मको मत्ता साँढे बनाउने प्रचण्डै हुन् ।’

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी ढोँगी मर्यादाका सबै आवरण उतारेर सर्वाङ्ग नग्न रूपमा हिटलरी प्रवृत्तिमा प्रकट हुँदा मिडियाको पहुँचदेखि दूर रहेका जनसाधारणले के-कस्तो अनुभूति गरे होलान् ? शब्दमा तिनको प्रतिक्रिया कसरी अभिव्यक्त भयो होला ? लोकबोलीमा ट्वीटकर्मी गनेस पौडेल लेख्छन्, ‘बिहान प्रधानमन्त्रीले जब गुहु खाए, त्यतिञ्जेल उनको मात्रै मुख गन्हाएको थियो । तर, अहिले (अर्थात् दिउँसो) राष्ट्रपतिले जब सेप्टिक ट्याङ्की नै फोरेर खाइन्, आची बगेर बस्ती नै दुर्गन्धित भयो ।’

झट्ट सुन्दा मुलुकका सभ्य एवं शिष्ट जनका दृष्टिमा यो अभिव्यक्ति अमर्यादित प्रतित होला । तर, प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका असंवैधानिक कृत्य जति अमर्यादित छन्, तिनको दाँजोमा यो लोक अभिव्यक्ति कति हाे कति शिष्ट र सौम्य छ । शासकहरूका जनघाती कुकृत्य देखेर जब क्षुब्ध जनसाधारण प्रतिक्रिया गर्छन्, त्यो प्रतिक्रिया श्रुतिमधुर कदापि हुँदैन ।

अब हिटलरी सरकारबाट पाखा लागेका र सत्ताबाट पर हुत्तिएकाहरूसमेत ओलीतन्त्रको ‘कू’ विरुद्ध गर्जन गर्दै सडकमा निस्कलान् । ती आफूलाई यसरी प्रस्तुत गर्लान्- मानौँ, ती आफूचाहिँ इतिहासका दूधले धोएका निष्पाप एवं निष्कलङ्क पात्र हुन् । तर, दुनियाँले तिनलाई राम्रै देखेका र चिनेका छन् । निहित स्वार्थको झोली बोकेर धुर्त ओलीको नित्य परिक्रमा गर्दा तिनका हंसमा ओली प्रवृत्ति निःसन्देह संक्रमित भएको छ ।

तसर्थ जो सडकमा आउँछन्, तिनले पहिले सत्तावृत्तमा छँदा जानअञ्जान आफूले गरेका दुष्कर्मको स्मरण गर्दै स्वीकारोक्तिको मुद्रामा पश्चात्ताप गरून् र जनतासँग सविनय माफी मागून् । अन्यथा जनताले भन्नेछन्- ‘सडकमा दुई दिन हल्लिएर भोलि ओली हुनेहरू आजै ओलीको पछि लागे हुन्छ ।’

मुलुकमा अब के हुने हो ? अरु के हुने हो ? मलाई थाहा छैन, तर सरोज अधिकारीको ट्वीट वाणीमा ‘जनताका उपलब्धि कुल्चिन खोज्नेको चपरीमुनि बास हुनेछ ।

अन्त्यमा, फेरि पनि नवजात ठुटे हिटलर मिस्टर खड्ग्रसाद शर्मा ओलीलाई भन्न मन छ- धन्य हौ तिमी, भष्मासुर औतारी ओली सर । तिम्रा कुकृत्यहरू देखेर दुनियाँले कहिल्यै नबिर्सने पाठ सिकेको छ- राज्यसत्तामा गन्धेझार रोपेर अङ्गुर फलाउन सकिँदैन ! (साभार शिलापत्र )

Promise Education Consultancy