प्रचण्ड-माधव समूहले दिएको सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र दर्ता गर्न संघीय संसद सचिवालयले अस्वीकार गरेको छ ।

नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले गरेका निर्णयबारे अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डसमेतका नेताहरुले ओलीलाई दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता गर्न महासचिव भरतराज गौतमलाई बुझाए पनि दर्ता गर्न अस्वीकार गरेको हो ।

कानूनअनुसार छलफल गरेर मात्रै निर्णय गर्ने भन्दै महासचिव गौतमले पत्र दर्ता नगरेको सांसद विरोध खतिवडाले जानकारी दिए । उनले भने,‘केपी ओलीलाई दलको नेताबाट हटाएको जानकारीसहितको पत्र दर्ताका लागि हामी सचिवालयमै छौं । तर महासचिव आवश्यक कानूनी परामर्शपछि मात्रै जवाफ दिने भन्नुभएको छ ।’

सांसद खतिवडाका अनुसार ओलीलाई दलको तेताबाट कारबाही गरेको जानकारीसहतको पत्र लिएर सिंहदरबारस्थित महासचिव डाक्टर भरतराज गौतमको कार्यकक्षमा दाहाल नेपाल समुहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार सहितका नेताहरु पुगेका छन् ।

टोलीमा वरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ लगाएतका नेताहरु समेत सहभागी भएको सांसद खतिवडाले बताए । प्रचण्ड नेपाल समुहको नेकपा संसदीय दलले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय समेत गरेको थियो ।

यसअघि नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले दलको नेतामा प्रचण्डलाई बनाउने निर्णय गरेको थियो । त्यसबाहेक प्रधानमन्त्रीले नियुक्त गरेका मुख्य सचेतक विशाल भट्टराईलाई समेत नचिन्ने जानकारी गराएको थियो ।

Promise Education Consultancy