सरकार र विप्लव नेकपाबीचको सहमतिमा आ-आफ्नो स्वार्थ भएको हुन सक्ने भट्टराईको आशंका

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीचको सहमतिमा प्रधानमन्त्री केपी ओली र विप्लवको आ-आफ्नो स्वार्थले भएको हुन सक्नेप्रति आशंका गरेका छन्। विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुराकानीका क्रममा नेता भट्टराईले विप्लव शान्ति प्रक्रियामा आएको भन्ने कुराले अर्थ नराख्ने बताए।

सरकार र विप्लव नेकपाबीचको सहमतिमा हतियार र लडाकुबारे नखुलाएको अवस्थामा विप्लव शान्ति प्रक्रियामा आएको भन्ने कुराले अर्थ नराख्ने उनको भनाई छ। यद्यपि, नेता भट्टराईले सरकार र विप्लबीचको सहमतिलाई राजनीतिक हिसाबमा स्वागतयोग्य भनेका छन्।

उनले भने, ‘सरकार र विप्लवबीचको वार्ताको माध्यमबाट हिंसात्मक गतिविधि गर्दै आएको विप्लव मूलधारको शान्ति प्रक्रियामा आउनु राजनैतिक रूपमा स्वागतयोग्य कुरा हो। तर हतियार र लडाकुको व्यवस्थापनका बारेमा लुकाइनुले सरकार र विप्लवको वार्ता र सहमतिमा जालसाजी र गोप्य लेनदेन भएको आशंका उब्जिदिइएको छ।’

वार्ता र सहमतिमा धेरै आशंका गर्ने ठाउँ उब्जिइदिएको दाबी गर्दै भोलिका दिनमा दुवै पक्षको गर्ने व्यवहार र प्रक्रियाबाट सबै कुरा हल हुँदै जाने पनि उनले बताए। उनले सरकार र विप्लवबीच भएको सहमतिमा हतियार र लडाकुका बारेमा प्रस्टसँग नखुलाइएकाले त्यसलाई छिटो टुंग्याउनु पर्नेमा समेत जोड दिए।

Promise Education Consultancy