विद्यार्थीमाथि हिंसा गरेको आरोपमा क्रिस्टल कलेजका शिक्षक पक्राउ

चितवन । आफूले पढाउने विद्यार्थीहरु आफ्ना छोराछोरीसरह हुन्छन् । स्कुल कलेज विद्यार्थीको दोस्रो घर मानिन्छ । आफ्ना आमाबुबा पछिको विश्वासिलो अभिभावक पनि शिक्षक नै मानिन्छन् ।

तर, रत्ननगर-१० मा रहेको क्रिष्टल कलेजमा कक्षा ११ र १२ मा अध्ययन गर्ने दर्जन बढी छात्राहरुलाई हिंसात्मक शब्द प्रयोग गरेर सन्देश पठाएको आरोपमा कलेजका शिक्षक हरि न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीहरुले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय रत्ननगरले न्यौपानेलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो । पीडित विद्यार्थीले ती शिक्षकले आफ्ना संवेदनशील अंग छुने, सुम्सुमाउने र नियतवश स्पर्श गर्ने गरेको बताएका छन् ।

शिक्षकले गरेको हर्कतबारे पीडित विद्यार्थीले म्यासेन्जरमा दोहोरो अर्थ लाग्ने भएको संवाद देखाउँदे भने, ‘शिक्षकले आफूहरुलाई रात बिताउन प्रस्ताव राखे । एक रातको कति लिन्छौ भने । र, यौन सम्पर्क गर्न दिए प्रश्नपत्रसमेत उपलब्ध गराउनेसम्मको लालच देखाए ।’

शिक्षकबाटै विद्यार्थीमाथि हिंसा गरेको विषय बाहिर आएपछि आक्रोशित पीडित पक्षका युवाहरुले कलेजमा तोडफोड गरेका छन् । तोडफोडबाट कलेजका झ्यालको सिसालगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

कलेज तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना युवालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका युवाको रिहाइको माग गर्दै विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए ।

उनीहरुले शिक्षकको अनैतिक क्रियाकलापको विरूद्ध नाराबाजीसमेत गरेका थिए । प्रहरीले आरोपित शिक्षकमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

Promise Education Consultancy