वैदेशिक रोजगारी छाडेर व्यावसायिक च्याउखेतीमा

पर्वत  : रोजगारीको खोजीमा युवा बिदेसिने क्रम बढिरहेको अवस्थामा पर्वतका एक युवा व्यावसायिक च्याउखेती गर्दै अरूका लागि पनि अनुकरणीय बन्नुभएको छ । पर्वतको फलेवास नगरपालिका–९ भंगरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । वैदेशिक रोजगारीले उहाँलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्केका सुवेदी त्यसपछि भने कहिल्यै  बिदेशिनु परेन ।

त्यसपछि च्याउखेतीमा लाग्नुभएका सुवेदी हाल दाजुभाइ च्याउ फर्म सञ्चालन गर्दै यसको व्यावसायिक खेतीमा निरन्तर लाग्नुभएको छ । ‘मलेसियाबाट फर्केलगत्तै पोखराको मझेरी पाटनमा दुई रोपनी जग्गा लिएर शुरु गरेको च्याउखेतीले अन्ततः मलाई यसको व्यावसायिक खेतीतर्फ आकिर्षत ग¥यो’, उहाँले भन्नुभयो– ‘त्यसयताको १५ वर्षे समयावधिमध्ये विभिन्न स्थानका साथै पछिल्ला ६ वर्षको समय पोखरा महानगरपालिका–१९ चितेपानीमा च्याउखेती गरें ।’ यस वर्षदेखि पोखरा महानगरपालिका–३३ बागमारास्थित महाकाली चोकमा च्याउखेती शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक च्याउखेतीमा राम्रो सम्भावना भएर नै आफूले डेढदशक यसैमा समय बिताएको अनुभव सुनाउँदै उहाँले कोरोना महामारीभन्दा अघिसम्म यस व्यवसायबाट मासिक दुई लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । ‘कोरोना शुरु हुनुभन्दा अघिसम्म मासिक २ लाखसम्म आम्दानी हुने गरे पनि कोरोना महामारीका कारण त्यसयता हालसम्म नै मासिक २ लाखकै हाराहारीमा घाटा बेहोर्दै आएको छु’, उहाँले भन्नुभयो– ‘आगामी दिनमा कोरोना महामारीको प्रभाव कम हुँदै व्यवसाय पूर्ववत्रूपमा फर्कने आशा गरेको छु ।’कोरोना महामारीका कारण बीचमा भएको लकडाउनका कारण च्याउखेतीका लागि आवश्यक पर्ने सामान ढुवानीलगायतमा समस्या झेल्नुपरेको सुवेदीले बताउनुभयो । बन्दाबन्दी पहिला च्याउखेतीका लागि आवश्यक पर्ने पराल प्रतिट्रक ५० हजारमा पाइने गरेकोमा अहिले भने १ लाख पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

कोरोना अघिसम्म आफूले १६ जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सुवेदीले अहिले चार जनालाई मात्र रोजगारी दिन सकेको बताउनुभयो । ‘पहिले न्यूनतम १०० ओटासम्म च्याउका टनेल बनाएका थियौं’, उहाँले भन्नुभयो– ‘प्रत्येक दिन ३ सय किलो च्याउ बजारमा पठाइन्थ्यो, अहिले १५ वटा मात्रै टनेल छन्, मुस्किलले दैनिक सय किलो निकाल्न पनि धौ–धौ छ ।’उहाँका अनुसार तामक्रमको सन्तुलन मिलाउन सकेमा च्याउखेती बाह्रैमहिना गर्न सकिन्छ । यसका लागि २० देखि २८ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ । सरकारले च्याउखेतीका लागि तापक्रम अनुकूलित टहरा बनाइदिने हो भने कृषकलाई ठूलै राहत मिल्ने उहाँको भनाइ छ । सुवेदीले हाल कन्ये र सिताके च्याउ लगाउनुभएको छ । बजारमा कन्ये च्याउ प्रतिकिलो २ सय रुपियाँ पर्छ भने सिताके च्याउ प्रतिकिलो ६ सय रुपियाँ पर्दछ ।

च्याउ लगाइएको तीन महिनामा उत्पादन दिन्छ । च्याउ खेतीका साथै आफ्नो फर्ममा प्रांगारिक तरकारीसमेत उत्पादन गर्दै आउनुभएको छ । राज्यका तर्फबाट कृषकलाई आकर्षित गर्ने किसिमका कार्यक्रम ल्याउनु आवश्यक भएको बताउँदै च्याउ सञ्जाल कास्कीका अध्यक्षसमेत रहनुभएका सुवेदीले व्यावसायिकताको विकासका लागि निरन्तरको क्रियाशीलता र लगाव आवश्यक हुने बतानुहुन्छ ।

Promise Education Consultancy