रोनाल्डोको गोलको मद्दतमा युभेन्टस् विजयी

एजेन्सी  : इटालियन सिरि ए फुटबलमा युभेन्टस् विजयी भएको छ । मंगलबार राति भएको खेलमा स्पेजियालाई ३–० गोल अन्तरले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । युभेन्टसलाई जिताउन अल्भारो मोराटा, फेडरिको चेजा र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । मोराटाले दोस्रो हाफमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ६२ औं मिनेटमा अग्रता लिएको युभेन्टसका लागि चेजाले ७१ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए ।

रोनाल्डोले निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहेका बेला गोल गरेका थिए । जितसँगै युभेन्टस २४ खेलबाट ४९ अंकसहित लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ५२ अंक भएको एसी मिलान दोस्रो र ५६ अंक जोडेको इन्टर मिलान शीर्ष स्थानमा छ । स्पेजिया भने १६ औँ स्थानमा छ ।

मंगलबारको खेलमा रोनाल्डोले कीर्तिमान बनाए । रोनाल्डोले पछिल्लो १२ सिजनमा लगातार २० भन्दा बढी गोल गरे । आफ्नो ६ सयौं लिग खेलेका रोनाल्डोले युरोपका पाँच लिगमा २० भन्दा बढी गोल गरेका छन् ।

Promise Education Consultancy