मेड नेपालको आयोजनामा सामीको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

चितवन । सुरक्षित आप्रवासन परियोजना (सामी)को अर्धवार्षिक समीक्षा कार्यक्रम मंगलबार भरतपुरमा सम्पन्न भएको छ ।
नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच दुई पक्षीय सम्झौता भई नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहलमा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित परियोजना चितवनका चार वटा पालिकाहरुमा सञ्चालन आइरहेको छ भने सेवाप्रदायक संस्थाको रुपमा मेड नेपालले कार्य गरिरहेको छ।
मंगलबार सम्पन्न अर्धवार्षिक समीक्षा कार्यक्रममा चार वटै पालिकाका मेयर, उपमेयर, अध्यक्ष, वडाध्यक्षहरुलगायत प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको उक्त कार्यक्रम मेड नेपालका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा भएको थियो भने सन्देश अधिकारीले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा मेड नेपाल संस्थाका कार्यकारी निर्देशक मिनराज भण्डारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य प्रष्ट्याएका थिए ।
सो कार्यक्रममा सामी परियोजनाले जिल्लाभित्र गरेका कामको प्रगति र आगामी योजनाको सम्बन्धमा परियोजनाका संयोजक सूर्य पौडेलले प्रष्ट्याएका थिए । यस्तै, अर्धवार्षिक समीक्षा कार्यक्रम सामी हेल्भेटासका कार्यक्रम अधिकृत उमा पौडेलले सामीको अवधारणा विषयगत रुपमा प्रस्तुति राखेकी थिइन् ।
साथै भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न अन्य वडा र पालिकाहरुमा बिस्तार गर्न आवश्यक रहेको औँल्याएका थिए ।
यसैगरी माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतोले सामी परियोजना स्थानीय तहको कार्यक्रम भएकोले सफल बनाउनु सबैको दायित्व भएको भन्दै आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामीलाई थप अन्य पालिकामा बिस्तार गर्नुपर्नेमा जोड दिए ।
मेड नेपालका अध्यक्ष बाबुराम आचार्यले मेड नेपाल विगत २७ वर्षदेखि सेवा प्रदायक संस्थाको रुपमा कार्य गर्दै आइरहेकोले सामी परियोजनालाई थप सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।