चितवनमा उत्पादित तरकारीमा ९९ प्रतिशतसम्म विषादीको प्रयोग

चितवन । चितवनमा उत्पादित तरकारीमा अत्यधिक विषादीको प्रयोग हुने गरेको पाइएको छ। उत्पादन बढाउन र सूचीकृत नभएका बीउ प्रयोग गरी उत्पादन लिन खोज्दा त्यसमा धेरै मात्रामा हानिकारक विषादीको प्रयोग हुने गरेको हो।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार, यहाँ गोलभेडा, भेडेखुर्सानी, ब्रोकाउलीमा विषादीको प्रयोग अत्याधिक भएको छ। ‘भरतपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा तरकारीको नमुना परीक्षण गर्दा पूर्वी चितवनको गोलभेडा, पाख्रिबासको भेडेखुर्सानीमा अर्गानो फस्फेट ४५ प्रतिशतभन्दा बढी र ब्रोकाउलीमा ४० प्रतिशत देखिएको छ’, कृषि ज्ञान केन्द्र चितवनकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले भनिन्, ‘यो मात्रा खान अयोग्य बिषादी हो।’ चितवनको गोलभेडामा पटकपटक विषादीको बढी प्रयोग भएको देखिएको छ। यसअघि पनि जिल्लामा पाँच क्रेट गोलभेडा नष्ट गरिएको थियो।’

उनका अनुसार तरकारीमा अर्गानो फस्फेट ३५ प्रतिशतभन्दा माथि देखिएमा तरकारी प्रयोग गर्न मिल्दैन। तर, ३५ देखि ४५ प्रतिशतसम्म देखिएको तरकारीलाई केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम देखिएमा खान मिल्ने क्षेत्रीले जानकारी दिइन्।

प्रदेश सरकारको सहयोगमा भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा विषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशाला राखिएको छ। यहाँ नियमित ५ वटा नमुना परीक्षण हुने गर्छ। २०७६ पौष महिनादेखि यता केरा, गोलभेडा, भेडेखुर्सानीलगायतका तरकारीमा बिषादी बढी देखिएपछि नष्ट गरिएको छ। प्रयोगशालाबाट अर्गानो फोस्फेट र कार्बोमेट परीक्षण गरिन्छ।

परीक्षणको क्रममा तरकारी र फलफूलमा बढी विषादी देखिने गरेको भरतपुर महानगर बजार व्यवस्थापन समितिका प्रबन्धक थीरप्रसाद धितालले बताए। ‘केरा र टमाटरमा त विषादी बढी देखिएर नष्ट नै गरेका थियौँ’, उनले भने, विषादी देखिएर निगरानीमा राख्नुपर्ने तरकारी त थुप्रै हुन्छन्।’ विषादी प्रयोग गरेको छोटो समयमै तरकारी बजारमा ल्याउँदा विषादीको मात्र बढी देखिएको उनले बताए।

चितवनको तरकारीमा बढी विषादी पाइएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँले कृषि ज्ञान केन्द्र चितवनलाई पत्रसमेत लेखेको छ।

कालीमाटी प्रयोगशालाका अनुसार भरतपुर नगरपालिका २४ ध्रुवनगरका कृषकले लगाएको फर्सीमा ९८.७७ प्रतिशत अर्गानो फस्फेट देखिएको छ। जुन ४५ प्रतिशतभन्दा माथि अर्गानो फस्फेट देखिएमा सो वस्तु खान अयोग्य मानिन्छ।

‘बढी मात्रामा तरकारीमा विषादी प्रयोग हुने र त्यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पु(याउने गरेको बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उपनिर्देशक डाक्टर कृष्णसागर पौडेलले बताए। विषादी हालेको तरकारी सेवन गर्दा छाला, आन्द्रा र रक्त क्यान्सर हुन्छ। यस्ता बिरामी दिनप्रतिदिन बढ्दै छन्’, उनले भने, ‘अहिले तरकारी बढी उत्पादन हुने काभ्रे, धादिङ, चितवनलगायतका मान्छेमा छाला, आन्द्रा र रक्तक्यान्सर बढी देखिएको छ।’ सुरक्षा सावधानी नअपनाई विषादी छर्दा छालाको क्यान्सर हुने र बढी विषादी प्रयोग गरेको तरकारी खाँदा आन्द्रा र रक्तक्यान्सर हुने उनले बताए।

‘जिल्लामा बढेको विषादी प्रयोगलाई न्यूनीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र चितवनले सचेतनाका कार्यक्रम गर्दै आएको छ। कार्यालय प्रमुख राजन ढकाल भन्छन्, ‘हामी विषादीरहित सप्ताह मनाएर किसानहरुलाई विषादी न्यूनीकरण गर्नका लागि प्रयास गरेका छौँ। विषादी न्यूनीकरणमा किसानहरु आफैँ पनि सजग हुनु आवश्यक छ ।’

 

Promise Education Consultancy