दुर्लभ आक्रमणका दोषीलाई कार्वाही गर्न अनेरास्ववियु चितवन र केन्द्रको माग

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनले केन्द्रीय सदस्य दुर्लभ शाहीमाथि भएको आक्रमणको भर्त्सना गरेको छ । सहसंयोजक बसन्त आचार्यले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गरेका हुन् ।

घटना घटेको तीन दिन भइसक्दा पनि प्रहरी प्रशासनले दोषीलाई पक्राउ नगरेको भन्दै अनेरास्ववियु चितवनको गम्भीर ध्यानाकर्षण भएको सोही विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै उसले घटनाका दोषीलाई २४ घण्टा भित्र पक्राउ गरी कारबाही गर्न पनि माग गरेको छ ।

गम्भीर प्रकृतिको घटना घटेको तीन दिन बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरी प्रशासनले पक्राउ नगरेको प्रति हाम्रो संगठन गम्भीर ध्यानाकर्षण जनाउदछ । उक्त घटनामा संलग्न जो कोहीलाई २४ घण्टा भित्र पक्राउ गरी कानुनी कारबाही गर्न जोडदार माग गर्छ विज्ञप्तिमा भनिएको छ ।

अनेरास्ववियु चितवनले २४ घण्टा भित्र दोषी पक्राउ नपरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीमाथि गत शुक्रबार इच्छाकामना गाउँपालिका ७ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा राती १०:३० बजे आक्रमण भएको थियो । उनीमाथि घरेलु हात हतियारबाट आक्रमण भएको जिल्ला सह संयोजक आचार्यले जानकारी दिए । उनको अहिले पुरानो मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भइरहेको छ । यसैविच अनेरास्ववियुका केन्द्रिय सहसंयोजक रन्जित तामागंले समेत एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कडा कार्वाही माग गरेका छन् ।

Promise Education Consultancy