भागरथी हत्या आरोपमा पक्राउ परेका दिनेशको डिएनए काठमाडौं पठाइयो

धनगढी : बैतडीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए काठमाडौं पठाइएको छ । उनको डीएनए परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो ।

परीक्षणका लागि रगत लगायत आवश्यक वस्तु काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । प्रहरीका अनुसार केही दिनमा परीक्षण रिपोर्ट आउने र त्यसपछि अनुसन्धानमा थप सहयोग पुग्नेछ । प्रहरीले प्रारम्भिक बयानमा दिनेशले बलात्कार गरेको स्वीकार गरिसकेको बताएको छ ।

यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइए पनि परीक्षण रिपोर्ट भने अझै आएको छैन । गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नपुगेपछि आफन्तले खोजी गरेका थिए । खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा उनको शव फेला परेका थियो । घटनामा संलग्न रहेको आरोपमा गत प्रहरीले फागुन ५ गते दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

Promise Education Consultancy