विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै महानगरपालिकामा धर्ना

काठमाडाैं : विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका अगुवाहरुले आइतबार काठमाडौं महानगरपालिकामा धर्ना दिएका छन् । बालाजुमा जनताको घर भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा ‘कंक्रिटको कमल’को फूल फुलाउने कामको विरोधमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि धर्ना दिइएको हो ।
विकासको नाममा आफूहरुको उठिबास गराएर प्रतिगमन गर्न खोजिएको आरोप उनीहरुको आरोप छ । यता बालाजु बाइपास सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आन्दोलनकारीले माग राखे । उनीहरुले सडक विस्तारको क्रममा उठिबास लगाइएकालाई सोही स्थानमा पुनःस्थापित गर्नसमेत माग गरे।बालाजुमा अदालतको अन्तरकालीन आदेश उल्लंघन गर्दै जनताको घर भत्काउने कार्य जारी राखिएको छ । त्यसको विरोध गर्ने अभियन्ताहरुलाई प्रहरीले गिरफ्तार गर्ने गरिरहेको छ ।
गिरफ्तारमा पर्ने अभियन्ताहरुलाई भेट्न जानेहरुलाई नेपाल भाषामा कुराकानी गर्न नदिइएकोमा समेत केही दिनयता सरोकारवालाहरुले विरोध जनाइरहेका छन् । शुक्रबार मात्रै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका थिए । त्यस्तै, कमलपोखरीमा पनि काठमाडौं महानगरपालिकाले कंक्रिटको संरचना बनाइरहेको छ । पोखरीको पानी सुकाएर त्यहाँ बनाउन लगाइएको कंक्रिटको कमलको फूल लगायतका संरचना पनि शुक्रबारै अभियन्ताहरुले भत्काइदिएका थिए ।