अभिनेत्री रेखा थापामाथि पूर्वम्यानेजर भट्टको आरोप

काठमाडौं :  फाउन्डेशनका नाममा समाज सेवाको प्रचार गरी आफूलाई स्थापित गर्न खोज्ने कलाकारमाथि प्रश्न उठ्न थालेका छन् । हालै मात्र अभिनेत्री श्वेता खड्काको श्वेताश्री फाउन्डेशनले माझी बस्ती बनाएको भनी गलत प्रचार भएको आरोप लागिरहेका बेला अभिनेत्री रेखा थापामाथि पनि प्रश्न उठेको छ ।

अभिनेता तथा रेखा थापा फाउन्डेशनका पूर्वम्यानेजर पुष्कर भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्नउठाएका हुन् । भट्टले उच्च शिक्षा दिने भनेर काठमाडौं ल्याएको राउटेहरू अहिले कहाँ छन् ? भनी सोधेका छन् । फिल्म ‘हिम्मतवाली’ प्रमोसनका लागि राउटेहरूलाई प्रयोग गरेको आरोप लगाएका भट्टले भनेका छन्,‘नायिका रेखा थापाले पनि रेखा थापा फाउन्डेसन र राउटेहरूको सवालमा नेपाली समाजलाई सार्वजनिक रुपमै जवाफ दिन जरुरी छ।’

हिम्मतवाली फिल्म प्रमोसनको लागि नजानिदो तरिकाले ४ जना राउटेहरूलाई फाउन्डेसनमार्फत काठमाडौं ल्याएर फिल्म हल चहारेर फिल्म प्रमोशनका लागि प्रयोग गरेको आरोप लगाएका उनले भनेका छन्,‘सोझा राउटेहरूलाई प्रयोग गरेर जुन चर्चा तपाईले बटुल्नुभयो । त्यसको भोली पल्ट राउटेहरु कहाँ गए, कता गए र कसरी गए ? कुनै समवेदना र भावना तपाईंसँग छ ? आजको मितिसम्म जान्न पनि चाहनु भएको छ रेखाजी ?’

रेखा थापा फाउन्डेसनका लागि २ र ३ करोड क्यानडाको एक फाउन्डेसनले सहयोग गरेको समेत खुलाएका उनले भनेका छन्,‘२–३ करोड पैसा तपाईंको आफ्नै थियो कि, क्यानडाको कुनै फाउन्डेसनले सहयोग गरेको थियो ? के त्यो बेला तपाईंले चन्दा माग्दा जायज हुने ? अहिले समाजमा केही राम्रो गरेका समाजसेवीहरूले माग्दा तपाईंलाई सहन नहुने ?’ उनले अहिले समाजसेवा गरिरहेका धुर्मुस– सुन्तली, रवि लामिछाने, ज्ञानेन्द्र शाही र श्वेता खड्काको विषयमा प्रश्न गर्नुभन्दा आफूलाई नियाल्न र अरुको बारेमा अन्तर्वार्ताहरू दिएर छोटो चर्चामा नआउन सुझाव दिएका छन्।

Promise Education Consultancy