आफू जन्मिएको धरातल बिर्सेर ओलीले आफूलाई महाराजधिराज सम्झिए : प्रचण्ड

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेकपा दाहाल–नेपाल पक्ष सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो ।

आफूलाई महाराजधिराज ठान्न थालेदेखि पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रम्हब्याख्याको रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृति केपी ओलीमा देखिएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो ‘बैठकमा बस्नपनि नपर्ने, आलोचना सुन्न नी नसक्ने, आफूले भनेपछि त्यो ब्रम्हव्याख्या जस्तो सबैले मानिदिनु नै पर्ने नमान्ने मान्छे अगाडि देख्नै नहुने यो महाराजधिराजहरु कै चरित्र हो नी त । आलोचना सहन पनि नसक्ने सुन्नपनि नसक्ने बैठक बहस भन्ने पटक्कै मन नपराउने आफू नेतृत्वमा पुग्नको लागि जस्तोसुकै कुराको पनि सम्झौता गरिदिने कार्यान्वयन एउटा पनि नगर्ने ।’

कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी भित्रैपट्टिबाट वर्गउत्थान भएका केही नेताहरु जो विपरित वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरुको प्रलोभनमा फस्छन् र उनीहरुका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन् । आफू जहाँबाट जन्मिएको हो त्यो धर्ति उनीहरुले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाईँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधि जस्तो ठान्न पुग्छन् । अहिले तपाईहरु हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन् ।’

आफू सत्तामा पुग्नका लागि जस्तो पनि सम्झौता गर्ने र सम्झौता भइसकेपछि कार्यान्वयन नगर्ने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । पार्टी एकता हुँदा भएका कुनैपनि सहमति प्रधानमन्त्री ओलीले नमानेको र आफूलाई महाराजधिराज जस्तो ठान्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘निर्णय भइसकेपछि लागू नगर्ने, आलोपालो अध्यक्षता पनि लागू नगर्ने, आलोपालो प्रधानमन्त्री पनि लागू नगर्ने र राजनीतिक प्रतिवेदनको कुनैपनि आफैले हस्ताक्षर गरेको कुरा लागू नगर्ने, अन्तरिक विधानको कुनैपनि प्रावधान लागू नगर्ने, आई एम द स्टेट भन्याजस्तो गरी श्री ३ महाराजधिराज, अस्ति बहसमा सुनिनै हाल्नुभयो श्री ३ महाराज र श्री ५ महाराजधिराज जस्तै प्रधानमन्त्रीलाई पनि अधिकार छ भनेर बोल्ने पञ्चायतका वरिपरिका मान्छे त तपाईहरुले देखिसक्नुभयो । सच्चाई यही नै हो ।’

प्रचण्डलाई उपयोग गरी माधव कुमार नेपाललाई निचोर्ने र प्रचण्डलाई पनि खिचिक्कै पार्छु भन्ने रणनीतिमा केपी ओली लागेको पनि बताउनुभयो । यो कुरा आफूले पार्टी एकता गरेको एक महिनामा नै बुझिसकेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

Promise Education Consultancy