समृद्ध भरतपुर महानगरको चर्चा

सम्पादकीय :   चितवनको एकमात्र महानगर भरतपुर महानगरभित्र सिङ्गो सहरको जत्तिकै सुविधा हुनेगरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बन्न लागेको खबर सार्वजनिक भएको छ । जिल्लाको प्रमुख सहर नारायणगढभित्र बन्न लागेको बहुउद्देश्यीय व्यावसायिक भवन अर्थात् भरतपुर मेट्रो प्लाजालाई ‘सहरभित्रको सहर’को रुपमा चित्रित गरिएको छ । भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन, नियमावली बनाएर राजपत्रमा प्रकाशित गरी व्यावसायिक भवन बनाउन लागेको खबर आफैँमा सुखदमात्र होइन समग्र महानगरकै शान पनि हो । भरतपुर–३ स्थित लायन्सचोकमा बन्न लागेको यो भवनसँगै महानगरले मानव केन्द्रित अवधारणामा निर्मित खुला स्थान, कार्यालय तथा बैंकिङ सेवाका लागि पर्याप्त सुविधा, होटल, बालबालिका खेल्ने क्षेत्र, रेष्टुराँ तथा खाद्य सुविधा, सिनेमाहल तथा मनोरञ्जन केन्द्रको आकर्षण हुने बताइएको छ ।
भरतपुर महानगरमा प्रमुख रेनु दाहालको तीनवर्षे कार्यकाल रचनात्मक ढंगले अघि बढिरहेकोमा कुनै द्विविधा छैन । किनभने, उनी विकास र समृद्ध महानगरको लक्ष्य प्राप्तिमा अनवरत जुटिरहेकी छन् । महानगरमध्ये भरतपुर महानगर नमुना बन्दै गएको दृष्टान्त रेनु दाहाल र उनको टिमले गरेको विकासको श्रृंखलाले पनि पुष्टि गर्छ । स्थानीय तहले जुझारु र विकासप्रेमी जनप्रतिनिधि प्राप्त गर्ने हो भने समृद्धिको लक्ष्य हासिल गर्न असम्भव हुँदैन ।

भरतपुरमा सहरभित्रको सहर बन्न लागेको एउटा उदाहरणमात्रै हो । मेयर दाहाल हरेक गाउँबस्तीका विपन्नको जीवनस्तर सुधारका लागि उत्तिकै प्रयत्नशील छन् । विपन्न बालबालिकालाई सहयोग, किशोरीहरुलाई साइकल वितरण, गृहणीका लागि आयआर्जनको लागि सीप विकास कार्यक्रम, सिलाइ मेसिन सहयोगजस्ता अनगिन्ती कार्यक्रममार्फत विपन्नको मुहारमा क्रान्ति भर्ने प्रयत्न मेयर दाहालले गर्दै आएकी छन् । भरतपुर महानगरमा विकास निर्माणले काँचुली फेरिसकेको तथ्य पनि कहीँकतै छिपेको छैन ।
मेयर दाहालले दीर्घकालीन सोच र योजनाका साथ आफ्नो कार्यकाल स्मरणीय बनाउन लागिपरिरहेकी छन् । महानगरवासीका थुप्रै जनअपेक्षा सम्बोधन भइसकेका छन् भने केही सम्बोधन हुनेक्रममा छन् । महानगर सफा र सुन्दर नगरीका रुपमा विकसित हुँदै गएको छ । कतिपय राष्ट्रिय गौरवका परियोजना बन्ने क्रममा छन् । सडक, पुल, ढल निकासका काम तीव्ररुपमा भइरहेका छन् ।

महानगरभित्र रामपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माण गर्दैछ । जसमा महानगरले उत्तिकै साथ र समर्थन गरेर सक्दो सहयोग गर्दै आएको छ । यो परियोजना राष्ट्रकै शान हो भने महानगरको लागि विकासको एउटा कोशेढुंगा । विभिन्न छिमेकी देशका स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापित गरेर नमुना महानगर बनाउने संकल्प र प्रयास आफैँमा प्रशंसनीय छ । राम्रो र सकारात्मक कामका लागि राम्रो भन्ने संस्कारको कमी भइरहेको सन्दर्भमा भरतपुर महानगरले विकास र समृद्धिमा जुन फड्को मारिरहेको छ, यो श्रृंखला जारी रहोस्, हाम्रो शुभेच्छा छ ।

Promise Education Consultancy